Logo
Logo

भित्रभित्र वाम गठबन्धनको खिचडी पाक्दैछ


84k
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा नेकपा एकीकृत समाजवादी पार्टीले भावी रणनीति तय गर्न केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न गरेको छ । केन्द्रीय परिषदको बैठक प्रज्ञा भवन कमलादीमा जारी छ ।

आजसम्म चल्ने केन्द्रीय परिषद बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदनमाथि ११ वटा समूहमा छलफल चलाइएको छ ।

सात प्रदेशका सात समूह, मोर्चा जनसंगठन र विभाग, उपत्यका सम्पर्क, विदेश सम्पर्क र प्रवास सम्पर्क, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्चको समूह बनाइएको छ । छलफलको निष्कर्ष आजको बैठकमा समूहका नेताहरूले राख्ने छन् ।

अध्यक्ष नेपालले अहिले पनि प्रतिगमनको खतरा भएकाले आगामी निर्वाचनमा पनि पाँचदलीय गठबन्धन गरेरै जाने कुरा बताएका छन् । अध्यक्ष नेपालले प्रतिवेदनमा ‘नेपालको कम्युनिष्ट आन्दोलनभित्र समाजवाद विरोधी दक्षिणपन्थी चिन्तन र व्यवहार तथा चरम व्यक्तिवादी प्रवृत्ति प्रकट भएको छ । हामी त्यस्तो गलत चिन्तन र प्रवृत्तिका विरुद्ध विद्रोह गरेर जन्मिएको पार्टी हौँ । अब हाम्रो नेतृत्वमा कम्युनिष्ट पार्टी अगाडि बढ्छ’ भनेका छन् ।

अध्यक्ष नेपालको प्रतिवेदनमा स्पष्टसँग भनिएको छ– ‘मुुलुक यतिबेला राजनीतिक रूपले मूलतः दुई धारमा विभाजित छ । एउटा व्यक्तिवादी अहङ्कार, स्वेच्छाचारी, निरङ्कुश, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको दक्षिणपन्थी अवसरवादी धार र अर्को संविधानको पूर्ण कार्यान्वयन गर्दै त्यसले निर्देश गरेको दिशामा मुलुकलाई अगाडि बढाउन चाहने वाम–लोकतान्त्रिक धार । अघिल्लो प्रवृत्तिको मूलबाहक केपी ओली हुन् भने वाम–लोकतान्त्रिक धारका अगुवा पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरू हुन् ।’

अध्यक्ष नेपालले भनेका छन्– ‘वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार र वर्ग चरित्र फरक फरक भए तापनि संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा आपसमा सहमत भएर गठबन्धनमा रही सहकार्य गरिरहेका छन् ।’

प्रतिवेदनमा भनिएको छ, ‘आगामी निर्वाचनलाई ध्यानमा राखेर यस गठबन्धन र सहकार्यलाई कम्तीमा पनि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म कायम राख्नुपर्ने आवश्यकता छ ।’

संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरूले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने एकीकृत समाजवादीको मान्यता रहेको छ ।

वाम गठबन्धनको चर्चा
यसैबीच, आगामी निर्वाचनमा वाम गठबन्धनको छलफल पनि व्यापक बनेको छ । समाजवादीका सम्मानित नेता झलनाथ खनालले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै शर्तसहित वाम गठबन्धनलाई जोड दिएका छन् ।

खनालले भने, ‘सिंगो एमालेभित्र ओलीगुट मात्र प्रतिगामी हुन्, अरु क्रान्तिकारी छन् । क्रान्तिकारीसँग मिलेर जानु समयको माग हो ।’

मंसिरमा हुने निर्वाचनपूर्व नै वाम गठबन्धन र पार्टी एकतामध्ये कुनै कुरा भएन भने संघ र प्रदेशको निर्वाचनको नतिजामा एमाले ठूलो क्षति व्यहोर्नुपर्ने अनौपचारिक निष्कर्षमा पुगेको छ । यो कुरा स्थानीय तह निर्वाचनको परिणामले देखाएको छ ।

वाम गठबन्धन गरेर जाँदा केपी शर्मा ओलीको भूमिका कस्तो हुन्छ भन्ने प्रमुख हो । ओली भित्रभित्र वाम गठबन्धन गर्न चाहने, आफू तलमाथि हुने गरी गठबन्धन नचाहने भएपछि एमालेभित्र तनावयुक्त वातावरण छ ।

एमालेका एकथरि नेता एकीकृत समाजवादीसँग र अर्काथरि नेता माओवादी केन्द्रसँग एकता वा सहकार्यमध्ये जुन कुरा सजिलो हुन्छ, त्यसमा जान भनेर संवाद चलाइरहेका छन् । संवादको क्रममा सबैसँग भएका कुराकानीको सार एउटै छ– ओलीले विगतमा गरेको गल्तीको आत्मस्वीकार, आत्मालोचना गर्नुपर्ने ।

तर, ओली यसका निम्ति अहिलेसम्म तयार छैनन् । बरु, उनले केही दिनअघि ‘एउटा निर्वाचन हार्न तयार हुनुपर्ने’ अभिव्यक्ति दिएका छन् । यस्तो कुरा आएपछि अब एमालेको चुनावी जहाज डुब्ने भयो भनेर नेताहरू आ–आफ्नो ‘बन्दोबस्ती’मा लाग्न थालेको एमाले सूत्रले दृष्टिलाई जानकारी दिएको छ ।

सो सूत्रका अनुसार ओलीले आफ्नो गल्ती आफैँले स्वीकार्ने टाढाको कुरा भयो, ‘संसद विघटन गलत थियो’ पनि भन्न नपाइने गरी एमालेभित्र अनुशासनको डण्डा चलाइँदैछ ।

जबकी, विभिन्न वामपन्थी नेतासँग कुराकानी गर्न गएका नेताहरुले एउटै निश्कर्ष बोकेर फर्किएका छन् । त्यो हो, ओलीको आत्मालोचना । तर, ओली आत्मालोचना गर्न तयार छैनन् । उनी अझै संसद विघटन ठीक हो भन्दै छन् ।

एमालेभित्र पछिल्ला दिनमा विकसित घटनाक्रमअनुसार, नेताहरूमा विभिन्न खाले प्रवृत्ति पाइएको छ । शंकर पोखरेल, प्रदीप ज्ञवालीहरू ‘जसो–जसो ओली, उसो–उसो स्वाहा’ हुन तयार छन् । त्यो कुरा बुझेर ईश्वर पोखरेल चूपचाप छन् ।

विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङहरू सर्वनाशलाई रोक्नका लागि अन्तिमसम्म पनि एकता वा सहकार्यमध्ये एउटा बाटोमा जानैपर्ने भनिरहेका छन् । ओलीको नियत प्रष्ट भएपछि घनश्याम भुसालहरूको समूह अहिले माओवादीसँग संसदमा छ ।

१० भाइको विजोग
पहिल्यैदेखि ओलीपक्षीय भनेर देखिएका नेताहरू आगामी चुनावमा टिकट पाउने कुरामा विश्वस्त छन् । तर, विशेषतः माधवकुमार नेपाललाई अन्तिममा साथ छोड्ने १० भाइहरू राजनीतिक जीवनरक्षाको चरणमा पुगेका छन् ।

योगेश भट्टराईहरू ओलीलाई खुशी पार्न नेपाललाई सन्यास लिनु भनेर सामाजिक सञ्जालमा हप्काउन थालेका छन् । किनभने, ओलीलाई खुशी पारेर चुनावको टिकट पाउनुबाहेक उनीसँग अर्को बाटो छैन ।

योगेश भट्टराईको जस्तो चाकडी गर्न नसक्नेहरूले फरक–फरक संवाद शुरु गरेका छन् । त्यसमध्ये अहिले घनश्याम भुसाल माओवादी नेता वर्षमान पुनसँग बाक्लो संवादमा छन् । सुरेन्द्र पाण्डेसहितका केही नेता भने एकीकृत समाजवादीका विभिन्न नेतासँग नजिकिएर अगाडि बढ्न चाहिरहेका छन् ।

अहिलेकै स्थितिमा चुनाव भयो भने १० भाइमध्ये अधिकांशले टिकट नपाउने, टिकट पाए पनि ओलीले हराइदिने कुरा बुझेका छन् । त्यसमध्ये घनश्याम भुसालले आफ्नो समूहलाई कतै माओवादीको सहयोगमा, कतै समाजवादीको सहयोगमा जिताउने गरी भूमिका खेलिरहेका छन् ।

उनले वर्षमान पुनसँग गरेको कुराकानीको रिपोर्टिङ खुमलटारमा भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई माओवादी केन्द्रमा प्रवेश गर्ने सन्देश दिएका छन् । तर, भुसाल तयार छैनन् ।

माओवादीसँग वार्ता
खुमलटार सूत्रका अनुसार वर्षमान पुनसँगको कुराकानीमा व्यक्त गरेअनुसार, माधव नेपालतिर जाँदा हिजोको कुरा सम्झिएर कार्यकर्ता तहबाटै असहयोग हुने डर भुसालमा छ । ‘उता नपाउने भएपछि यता आयो’ भनेर समाजवादीहरूले हेला गर्छन् भन्ने पिर भुसालमा छ । त्यसैले न माओवादी, न समाजवादी, कतै नलाग्ने कुरा उनले भनेका छन् ।

तर, वामपन्थीबीच चुनावी मोर्चा गर्ने हो भने ओली र उनीनिकटस्थ बाहेकका अरु नेतालाई त्यसमा उभ्याउन सकिने अडानमा भुसाल छन् । माओवादी पक्षले पार्टी प्रवेश नगरे पनि आफ्नो चुनाव चिह्नमा चुनावमा भाग लिनुपर्ने बताउँदा त्यसमा पनि भुसालहरूले मानेका छैनन् । उनीहरूले स्वतन्त्र उम्मेदवारका रुपमा अलग्गै चिह्नमा तालमेल गर्ने प्रस्ताव राखेका छन् ।

विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङहरू पनि माओवादीसँग अनौपचारिक संवादमा छन् । उनीहरूले सबै ठाउँमा नभए पनि केही निश्चित निर्वाचन क्षेत्रका लागि तालमेल गर्नुपर्ने भन्ने गरेका छन् ।

ओलीको च्याँखे दाउ
ओलीले गरेको अनुमानअनुसार असार महिनाभरमा एकीकृत समाजवादी र जसपाभित्र असन्तुष्ट हुनेहरू एमालेमा फर्किन्छन् । यदि, पुग्दो सांसद संख्या पुर्याउन सकियो भने, मधेसी दलसँग अविश्वासको प्रस्तावबाट देउवा सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउने षडयन्त्र गरिरहेका छन् । त्यसो भएन भने ती पार्टीभित्रको विग्रहमा खेलेर केही न केही फाइदा लिन सकिन्छ भन्ने ओलीको अनुमान छ ।

एकीकृत समाजवादीले फिर्ता बोलाएका मन्त्रीका पक्षमा हस्ताक्षर गर्ने १० जनाको पत्र सार्वजनिक भएपछि एमालेभित्र एक किसिमको दीपावली नै मनाइयो । तर, त्यो खुशी दुई दिन पनि टिकेन । हस्ताक्षर गर्नेमध्ये ६ जनाले भोलिपल्टै फिर्ता लिए । बाँकी चारजना पनि मन्त्रीबाट फिर्ता भइसकेका छन् ।

नयाँ पार्टी भएका कारण गठन भएको पाँच वर्षसम्म समाजवादी कानुनतः विभाजित हुन सक्दैन । त्यसैले समाजवादीभित्र हुने झगडाले एमालेलाई तत्काल फाइदा पुर्याउँदैन ।

जतिसुकै असन्तुष्ट भए पनि समाजवादीका नेता–कार्यकर्ताले एमालेमा एक्लाएक्लै फर्किंदा कुन हविगत व्यहोर्नुपर्छ भन्ने कुरा १० भाइ र उनीहरू पक्षका देशभरका कार्यकर्तामाथि गरिएको व्यवहारबाटै बुझिसकेका छन् ।

देउवा सरकारबाट एकीकृत समाजवादीका पुराना मन्त्री फेरिने र नयाँ मन्त्री आउने कुराले पनि एमालेभित्र निराशा छाएको छ । अघिल्ला मन्त्रीमध्ये प्रेम आले र रामकुमारी झाँक्री एमालेप्रति उदार भएर काम गर्दै थिए ।

किसान श्रेष्ठको निर्वाचन क्षेत्र तनहुँमा एकीकृत समाजवादी कमजोर भएका कारण उनले जिल्लाको हकमा पनि एमालेसँग मिलेर काम गरेका थिए । तर, नयाँ आएका मन्त्रीमध्ये एमालेले चलाउन सक्ने कोही पनि छैनन् ।

प्रतिक्रिया दिनुहोस्