Logo
Logo

एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा अघि बढ्न एकीकृत समाजवादीको आह्वान



काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद बैठकले एकीकृत कम्युपनिष्ट पार्टी निर्माणको दिशामा अघि बढ्न वामपन्थी शक्तिहरुलाई अपिल गरेको छ ।

काठमाडौंका कमलादीस्थित प्रज्ञा भवनमा सोमबार र मंगलबार सम्पन्न परिषद बैठकले कम्युनिष्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकतावद्ध हुन आवश्यक रहेको भन्दै एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा अघि बढ्न अपिल गरेको हो ।

बैठकले पारित गरेको १७ बुँदे समसामयिक प्रस्तावमार्फत एकीकृत समाजवादीले भनेको छ–
‘माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा सहि विचार र राजनीतिक कार्यदिशा अङ्गालेका तर विभिन्न पार्टी र समूहमा विभक्त भई क्रियाशील रहेका कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूलाई कम्युनिष्ट आन्दोलनको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यतर्फ अगाडि बढ्नका लागि एकतावद्ध हुन र एकीकृत पार्टी निर्माणको दिशामा अघि बढ्न यो बैठक सबै क्रान्तिकारीहरूमा हार्दिक अपिल गर्दछ ।’

बैठकले लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामाथि प्रहार हुने क्रम जारी नै रहेको भन्दै वामलोकतान्त्रिक गठबन्धनमा रहेका दल लगायत लोकतान्त्रिक शक्तिलाई एकजुट हुनसमेत आह्वान गरेको छ ।

१७ बुँदे समसामयिक प्रस्तावमा भनिएको छ– ‘प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुनसक्ने स्थितिप्रति सजग रहँदै यो बैठक वामलोकतान्त्रिक गठबन्धनमा रहेका दलहरू लगायत सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्