Logo
Logo

चुनाव जितेको डेढ महिनामै काठमाडौंका वडाअध्यक्षविरुद्ध प्रहरीद्वारा मुद्दा दायर




काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा नम्बर ४ का अध्यक्ष दिनेश महर्जनविरुद्ध जिल्ला अदालत काठमाडौंमा लिखत सम्बन्धि कसुर(कीर्ते) मुद्दा दायर भएको छ । कीर्ते हस्ताक्षर गरी एक बृद्धाको १२ हजार बृद्धभत्ता हिनामिना गरेको जाहेरीका आधारमा मुद्दा दर्ता भएको हो ।


वडा अध्यक्ष महर्जनसहित निवर्तमान वडा अध्यक्ष मोहनबहादुर बिष्ट र पूर्व वडा सदस्य धुव्र त्रिपाठीविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालतले प्रहरीलाई पत्राचार गरेको छ ।


२०७७ को असार महिनामा स्थानीय ९६ वर्षिया चिजमाया लिम्बुको तीन महिनाको वृद्धभत्ता हिनामिना भएको हो । उनको नाममा हस्ताक्षर गरेर अन्य व्यक्तिले नै बृत्तभत्ता लगेको खुलेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । त्यतीबेला बिष्ट वडाअध्यक्ष तथा महर्जन र त्रिपाठी वडा सदस्य थिए । भत्ता हिनिाहिनाबारे गुनासो गर्न जाँदा वडाका पदाधिकारी र कर्मचारीले उल्टो दुव्र्यवहार र कुटपिट गरेका थिए । त्यसपछि पीडित पक्षले प्रहरीमा जाहेरी दिएको हो । वडा कार्यालयले भने गल्ती सच्याउँदै लिम्बुको खातामा पनि १२ हजार रुपैयाँ राखिदिएको थियो ।


अदालतले पक्राउ गरेर उपस्थित गर्न भनेपनि तीनै जना हाल कानूनी रुपमा फरार छन् । प्रहरी वृत्त महाराजगञ्जका डिएसपी प्रमेश बिष्टले आफुहरुले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलमा केही दिनअघि नै पठाइसकेको तर पक्राउ गर्नेपत्र प्राप्त नभएको बताए । यसअघि उनीहरुलाई हाजिरी जमानीमा छुटेका थिए । तर, मुद्दा चलाउँदा फरार बनाएर मुद्दा चलाइएको छ ।


वडा अध्यक्ष महर्जनले भने आफुमाथि अन्याय भएको बताएका छन् । त्यो घटनामा आफ्नो संलग्नता नभएपछि मुद्दा चलेको उनको दुःखेसो छ । सो मुद्दामा आफैं अदालत उपस्थित हुने उनको भनाई छ । महर्जन एमालेबाट निर्वाचित वडाअध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्