
काठमाडौं । राष्ट्रिय धान दिवस आज देशभर मनाइदैछ । खेतमा काम गरेर दहीच्युरा खाएर यो दिवस मनाउँने गरिन्छ ।
दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ ।
खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ ।
शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ ।
निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । आजैको दिनलाई सरकारले २०६१ देखि धान दिवसका रुपमा मनाउँदै आएको छ ।
मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्साउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो ।











