Logo
Logo

डा.केसी जनता हुन्, जनता संग निहू नखोज्नू



रवीन्द्र श्रेष्ठ
पुष २५ गते बुधवार देखि डा.गोविन्द केसीले सोह्रौं अनसन शुरु गरेका छन् । पन्द्र पटकको अनसनमा तीन पटक वाहेक वाह्र पटक सरकारलाई घुँडा टेकाएका छन् उनले । त्यस मध्ये सातौं अनसन भारतीय नाकावन्दी शुरु भएकोले डा.केसीले आफै स्थगित गरेका हुन् । अर्को नवौं अनसनको वेला दशैं परेकोले उनले आफै अनसन स्थगित गरेका हुन् । एघारौ. अनसनको वेला देशमा वाढीले जनजीवन असामान्य वनाएकोले डा.केसीले आफै स्थगित गरेका थिए ।


अब यस पटकको अनसनमा डा.केसी आफै झुकेर माग पूरा नगरीकनै अनसन स्थगित गर्छन् वा प्रधानमन्त्री केपि ओलीलाई झुक्न वाध्य वनाउनेछन् भन्ने हेर्न महिना दिन कुरेपछि देखिनेछ ।
वहुसंख्यक जनताको भनाइ रहेको छ कि यसपटक पनि डा.केसीले प्रधानमन्त्रीलाइ झुकाएरै छोड्नेछन् ।

तेह्र पटक सम्म सरकारलाई घुँडा टेकाउन सक्नुको पछाडि डा.केसीमा रहेको जनतावाद र मनोवलले निर्णाएक भूमिका खेलेकोछ ।

डा.केसी जनता हुन् । उनको यो जनता मनोवल र जनता मनोवृत्तिले उनमा ठुलो साहस पैदा गर्ने गरेकोछ । गुमाउनकालागि केही पनि छैन, तर जित्नकालागि संसार छ भन्ने कार्ल माक्र्सको परिभाषा भित्र पर्ने गर्छन् डा.केसी ।

जनताका अगाडि राणा शासन टिकेन । राजतन्त्र टिकेन । डा.केसीले जनताका मन छुने कुरा मागको रुपमा उठाउँछन् । डा.केसीले आफ्नो बौद्धिक क्षमतालाई जनताको मनोभाव संग जोड्छन् । त्यसैले उनका अगाडि १२ पटक सम्म देशको प्रधानमन्त्री स्वयम् झुक्न परेकोछ ।

अहिले उनले दुर्गम ठाउँका जनताको लागि सरकारी मेडिकल कलेज खोल्ने माग अघि सारेका छन् । मार्सी चामलको भात खुवाएर नेताहरुवाट आफ्नो दुनो सोझ्याउनेहरुका विरुद्ध लडाईको संखघोष गरेकाछन् ।

सरकार समक्ष अब ४ विकल्प रहेकोछ । पहिलो, डा.केसीलाई अनसन वस्दै गर्दा मर्न दिने । दोश्रो, डा.केसीका मागहरु पूरा गरेर घुँडा टेक्ने । तेश्रो, देशमा अराजकता र अझ चर्को आन्दोलन निम्त्याउने । चौथो, डा.केसीलाई घुँडा टेक्न लगाउने ।

सरकारले पूरा नगर्ने वा गर्न नसक्ने भए किन पन्ध्रौं अनसनमा सम्झौता गरेको भन्ने प्रश्नको जवाफ सरकार संग छैन । त्यसैले वढी सम्भावना सरकार पुनः यसपटक पनि झुक्न वाध्य हुनेछ ।

देश र जनतालाई वेकारका तनावमा राख्ने काम मात्र सरकारले शुरु गरेकोछ ।

सरकार संग प्रत्येक प्रदेशमा एक एक वटा सरकारी मेडिकल कलेज खोल्न सक्ने आर्थिक हैसियत छ । भ्यु टावर तथा अनावश्यक गाडि र जाँड पार्टीको खर्च मात्रै सरकारले जोगाउने हो भने पनि सरकारी मेडिकल कलेज खोल्ने पैसा जोगाड हुन्छ ।

महाराजगंजको सरकारी मेडिकल कलेज टिचिंग हस्पीटलवाट उत्पादित डाक्टरहरु नेपालमा सवभन्दा राम्रो मानिन्छन् । सवभन्दा राम्रो डाक्टरी पढाइ नेपालमा उक्त सरकारी मेडिकल कलेजमा हुने गर्छ । सरकारी विद्यालय भन्दा सरकारी मेडिकल कलेज उल्टो छ, अर्थात सरकारी विद्यालयमा नराम्रो पढाइ हुने गर्छ, तर सरकारी मेडिकल कलेजमा राम्रो पढाई सस्तोमा हुन्छ ।

तसर्थ डा.केसीले भने झैं सरकारले सस्तोमा राम्रो डाक्टर उत्पादन गर्ने सरकारी मेडिकल कलेज हरेक प्रदेशमा खोल्नु पर्दछ । डा.केसीको माग पूरा गरिनु पर्दछ । समाजवाद उन्मुख देश वनाउने कुरा संविधानमा लेखि सकेपछि डाक्टर पढाउने कलेजमा मेडिकल माफियाहरुलाई प्रवेश निषेध गरिनु पर्दछ । कुनै चोरवाटो छाडिनु हुन्न ।

डा.केसी जनता हुन् । जनता संग निहू खोज्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्