Logo
Logo

नेकपाको दृष्टिमा कुन पार्टी कस्तो ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ११ साउन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न पार्टीलाई हेर्ने दृष्टिकोण पार्टीको मूल दस्तावेजमा समावेश गरेको छ । सो पार्टीले अन्य पार्टीहरूको विगत र वर्तमान विश्लेषण गर्दै आफ्नो दृष्टिकोण स्पष्ट पारेको छ । पार्टीको मूल दस्तावेज राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिई छपाइकार्य पनि सम्पन्न गरेको छ तर वितरणमा भने ल्याइएको छैन ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले दस्तावेज छाप्ने काम सकिएको छ, अबको एक–दुई सातापछि नेता तथा कार्यकर्ताको हातमा जाने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र केही कुरा मिलाउन बाँकी छ, नेताहरू गृहकार्यमा लाग्नुभएको छ, त्यो टुङ्गिनेबित्तिकै वितरण हुन्छ । ” आजको गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।

काँग्रेस आत्मसमर्पणवादी
सचिवालयका एक जना सदस्यका अनुसार पार्टीको दस्तावेजमा विभिन्न पार्टीका बारेमा टिप्पणी गरिएको छ । त्यसमा नेकपाले काँग्रेसलाई आत्मसर्मपणवादी नीतिमा अगाडि बढेको आरोप लगाएको छ । देशको पुँजीपति वर्गको नेतृत्व गर्दै काँग्रेसले क्रान्ति गर्ने अवसरमा पनि ढुलमूले र सम्झौतापरस्त भएका कारण प्रजातान्त्रिक समाजवादको नारा सफल नभएको दस्तावेजमा उल्लेख छ । यद्यपि, नेकपाले आफ्नो मुख्य प्रतिस्पर्धी काँग्रेस पार्टीलाई नै मानेको छ ।

समाजवादी ढुलमूले
नेकपा नेतृत्वको सरकारलाई सघाइरहेको समाजवादी पार्टी, नेपाललाई पनि ढुलमूले चरित्रको पार्टी रहेको भनेको छ । यद्यपि, राष्ट्रिय एकता तथा स्वाधीनताको सवालमा सो पार्टी प्रतिबद्ध रहेको नेकपाले ठहर गरेको छ । जातीय, भाषिक र सङ्घीयताको सन्दर्भमा केही सङ्कीर्ण सोच रहे पनि समाजवादी पार्टीले समाजवाद उन्मुख समावेशीलाई आत्मसात् गरेको नेकपाले ठहर गरेको छ ।

राप्रपा नेपाल अतिवादको पृष्ठपोषक
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जातीय, भाषिक र सङ्घीयताको विषयमा अतिवादको पृष्ठपोषण गरेको नेकपाले आफ्नो दस्तावेजमा उल्लेख गरेको छ । राष्ट्रिय एकता तथा स्वाधीनताको विषयमा यसले आत्मसमर्पण गर्ने गरेको नेकपाले ठहर गरेको छ । राजपा नेपाललाई तराई मधेसका पुँजीपति वर्ग तथा जमिनदारको प्रतिनिधित्व गर्ने पार्टी रहेको भनेको छ ।

राप्रपा जनताबाट अस्वीकृत
राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्वपञ्चहरूको पार्टी रहेको नेकपाको ठहर छ । यसले सामन्तवादीहरूको प्रतिनिधित्व गरेकोसमेत नेकपाले दस्तावेजमा ठहर गरेको छ । यो पार्टीले हिन्दु धर्मको नाममा धर्मलाई राजनीतीकरण गरिरहेको दाबी गर्दै त्यो पार्टी जनताबाट अस्वीकृत पार्टी रहेको दाबी गरिएको छ ।

कम्युनिस्ट जडसूत्रवादी
अन्य साना कम्युनिस्ट पार्टीलाई आत्मकेन्द्रित जडसूत्रवादी पार्टी रहेको आरोप नेकपाले लगाएको छ । यद्यपि, ती दलहरूसँग एकता गर्ने पहललाई पनि अघि बढाउने नेकपाको दस्तावेजले भनेको छ । ती दलहरूसँग राष्ट्रिय एकता, लोकतन्त्र, समृद्धि र समाजवादका लागि एकता, सहकार्य अथवा कार्यगत एकता गर्न सकिने नेकपाले भनेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले उग्रवामपन्थी प्रवृत्तिको नेतृत्व गरेको नेकपाले ठहर गरेको छ । लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त परिवर्तनलाई अस्वीकार गर्दै पुनः सशस्त्र आन्दोलन गर्ने क्रियाकलापमा विप्लव समूह लागेको नेकपाले भनेको छ । सशस्त्र आन्दोलन अहिलेको आवश्यकता नरहेको पनि नेकपाले ठहर गरेको छ । सशस्त्र आन्दोलन भयो भने प्राप्त उपलब्धि पनि गुम्ने भन्दै नेकपाले विप्लव समूहलाई पनि मूलधारमा ल्याउने प्रयत्न गर्नुपर्ने भनेको छ ।

प्रतिक्रिया दिनुहोस्