Logo
Logo

कर्मचारीहरुमा नक्कली रोगको बिगबिगी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुले खटाएको ठाउँमा नजान र गएकाहरु फर्किनका लागि जटिल रोग लागेको सिफारिस पेश गरेका छन् । समायोजन हुँदा प्रदेश तथा स्थानीय तहमा समायोजन भएर गएका निजामती कर्मचारीले संघमै रहनका लागि कीर्ते कागजपत्र तयार गरेका हुन् ।

स्थानीय तहमा सरुवा भएका करिब ३ सय ५० कर्मचारीले कुनै रोग नलागे पनि कडा रोग लागेको सिफारिस मेडिकल बोर्डबाट ल्याउँदै पेश गरी संघमै दरबन्दी कायम गराएका छन् । त्यसमा नेकपा निकट ट्रेड युनियनदेखि आधिकारिक ट्रेड युनियनका पदाधिकारीसम्म छन् । रोग नै नलागी रोग लागेको सिफारिस बनाउनेमा स्वास्थ्यका कर्मचारी बढी छन् ।

कर्मचारी समायोजन ऐनको दफा ८ मा समायोजनको आधारका बारेमा ब्याख्या गरिएको छ । दफा ८ को ४ मा उल्लेख छ–‘माथि जेसुकै लेखिएको भएता पनि नेपाल मेडिकल बोर्डले कडा र जटिल रोग लागेको भन्ने सिफारिस गरेको अवस्थामा सम्बन्धित मन्न्त्रालयले कर्मचारीले रोजेको ठउँमा राख्न सक्छ ।’ ऐनको यो बुँदालाई आधार मानी मेडिकल बोर्डबाट रोगै नलागे पनि कडा रोग लागेको सिफारिस गराउँदै कर्मचारीहरु समायोजन भएका स्थानीय तहमा नगएको खुलेको छ ।

चिनेको चिकित्सकबाट कडा रोग लागेको प्रेस्क्रिप्सन बनाउने र त्यही पेश गरी मेडिकल बोर्डबाट खटाएको ठाउँमा नजाने प्रवृत्ति देखिएको छ । तन्दुरुस्त र कुनै रोग नलागेका कर्मचारीले पनि बोर्डबाट सिफारिस पेश गरेका छन् । बोर्डबाट कडा रोग लागेको सिफारिस गराइदिने बीचौलियाहरुको संजाल वीर अस्पतालमै छ । त्यो संजालले प्रतिब्यक्ति ३ देखि ३ लाख ५० हजार रुपैयाँ खर्च गरी सिफारिस गराउने गरेको छ । वीर अस्पतालका निर्देशकको अध्यक्षतामा रहेको तीन सदस्यीय बोर्डले क, ख र ग गरी तीन किसिमका सिफारिस गर्दछ । क वर्गको सिफारिस बिदेश उपचारमा जानका लागि दिने गरिन्छ । ख वर्गको सिफारिस जटिल रोग लागेकोले चिकित्सकको निगरानीमा बस्नुपर्ने भन्ने हुन्छ । ग वर्गमा आर्थिक सहायताका लागि सिफारिस गर्दछ । मेडिकल बोर्डमा अहिले वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी, सदस्यद्वयमा डा. विधाननिधि पौडेल र डा. किरण श्रेष्ठ छन् । यो तीन सदस्यीय बोर्डबाट सिफारिस गरिएका ९५ प्रतिशत कर्मचारीको एकपटक पुनः जाँच गरेमा त्यो रोग लागेको भेटिनेछैन । बोर्डबाट यो बर्ष सिफारिस लिने ५ सयमध्ये अधिकांश ख वर्गका निजामती र स्वास्थ्य समूहका कर्मचारी छन् । स्रंोतका अनुसार यी निजामती र स्वास्थ्यका कर्मचारीमध्ये ९५ प्रतिशत फर्जी बिरामी फेलापर्नेछन् । तन्दुरुस्त भएर पनि नक्कली बिरामी बनेकाहरुको पुनः एकपटक स्वास्थ्य जाँच गर्ने हो भने बोर्डको बदमासी छर्लङ्ग हुनेछ ।

मेडिकल बोर्डका अध्यक्ष सेन्चुरीकै वीर अस्पतालका स्थानीय तहमा खटिएका कर्मचारीले कडा रोग लागेको सिफारिस गराएका छन् । र, वीर अस्पतालमै कार्यरत रहनका लागि उनीहरुले लाग्दै नलागेको कडा रोग लागेको सिफारिस गराएका छन् । ढाड खिइएकाले उकालो ओरालो हिंड्न नहुने, हात भाँचिएको, हाइपर टेन्सन जस्ता ८ रोगलाई सरकारले कडा रोगका रुपमा पहिचान गरेको छ । यिनै ८ वटा रोगमध्ये एउटा लागेको डाक्टरको प्रेस्क्र्रिप्सन पेश गरी समायोजन भएको स्थानीय तहमा नजाने वीर अस्पतालका कर्मचारीहरुमा अहेब विष्णु फुयाल, सविता जोशी, टीकाराम पनेरु, युवराज सुवेदी, डिल्लीराम आचार्य, जीवनकुमार श्रेष्ठ, डिल्लीराम खनाल, अरुणकुमार महतो लगायत छन् । यिनीहरु दैनिकरुपमा भक्तपुर, बालाजु, बुढानीलकन्ठ जस्ता स्थानबाट पल्सर मोटरसाइकलमा आउँछन् । दिनमा दसौं पटक वीर अस्पतालको चार तला उक्लने र झर्ने गर्दछन् । अस्पतालले आयोजना गरेको खेलकुद कार्यक्रममा भाग लिन्छन् । तर उनीहरुले कडा रोग लागेकाले डाक्टरको निगरानीमा रहनुपर्ने मेडिकल बोर्डको सिफारिस पेश गरेका छन् । र, स्थानीय तहमा नजान उनीहरुले यस्तो झुटो बिरामीको नाटक गरेका छन् ।

उदाहरणका लागि बिष्णु पोखरेलले हात भाँचिएर कुहिनोमा हड्डी बाहिर निस्केकाले धेरै हिडडुल गर्नु नहुने भनी सिफारिस लिएका छन् । तर उनलाई केही पनि नभएको अस्पताल स्रोतले बताएको छ । यसरी नक्कली बिरामी बनेर बोर्डबाट सिफारिस लिनका लागि घुसको सेटिङ गर्नेहरुको स्वास्थ्य मन्त्रालयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्म पहुँच छ । मेडिकल बोर्डका कर्मचारी खुबराज आचार्य, अग्निधर बस्याल, शोभा गौतम, विष्णु फुयाल, टीकाराम पनेरु छन् । खुबराज आचार्य स्वास्थ्य मन्त्रालयका सचिव डा. पुष्पा चौधरीका मानिस हुन् । बस्याल, गौतम र फुयाँल स्वास्थ्य मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठका हुन् । अरुण महतो स्वास्थ्य राज्यमन्त्रीका एजेन्ट हुन् । टीकाराम पनेरुले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सेटिङ गर्दछन् । यसरी समायोजन भएका ठाउँमा नजानका लागि सबैतिर सेटिङ गरेको यो समूहकै योजना अनुसार मेडिकल बोर्डबाट प्रमाणपत्र दिने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्