Logo
Logo

उठ्न थाल्यो काठमाडौंको फोहोर



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्।

विभिन्न अवरोधका कारण लामो समय देखी थुपिएको फोहोर शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको उनले बताए। अवरोध नभए आजदेखि तीन सय ५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनको भनाइ छ।

उनले फेसबुकमा स्टाटस पोष्ट गर्दै आजदेखी नियमित फोहोर उठ्ने जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘कुनै अवरोध नभएमा दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्नेछन्,’ ‘शनिबार एक सय ५२ गाडी फोहोर बोकेर बञ्चरेडाँडाँ पुगे।’

काठमाडौंबाट दैनिक ७५ गाडी फोहोर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहोर जम्मा हुने गर्छ। ‘नियमित अवस्थामा फोहोर उठाउने र बञ्चरेडाँडाँसम्म पुर्‍याउन केही समय लाग्न सक्छ,’ उनले भने, ‘अवरोध नगर्ने स्थानीय, फोहोर संकलक, कर्मचारी र चालकहरूलाई तथा सुरक्षाकर्मीलाई धेरै धन्यबाद छ।’

उनले सिसडोलको अवस्था बञ्चरेडाँडामा नदोहोरिने बताए। ‘थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभई अन्य विकल्पहरुमा जानु व्यवहारिकरुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ,’ मेयर शाहले भनेका छन्, ‘फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरु छन् र हदैसम्म प्रयास गरिनेछ।’

कसैले फोहोरबाट आक्रन्त हुनु नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने लक्ष्य उनले रहेको बताए। बञ्चरेडाँडाँ पुग्ने सडक बिग्रेको र फोहोर बोकेका गाडी तोडफोड भएपछि केही समयदेखि काठमाडौंको फोहोर ढुवानी गर्न समस्या भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्