Logo

बर्लिनको पर्खाल र दुई खाले साम्यवादीहरु


Published On : 12 August, 2019

बर्लिनको पर्खालले जर्मनीलाई दुई देशमा विभाजन गरेको थियो । यसको निर्माणको शुरुवात १९६१ अगष्ट १३ (श्रावण २९, २०१८ विसं) वाट भएको थियो । यो पर्खाल पूर्वी जर्मनीको कम्युनिष्ट भनिएको सरकारले निर्माण गरेको थियो ।

दोश्रो विश्वयुद्धको अन्त्य तिर हिटलरको नेतृत्वमा रहेको जर्मनी माथि पूर्व तिरवाट सोभियत संघको लाल सेनाले आक्रमण तीब्र वनाएको थियो भने पश्चिम तिरवाट अमेरिका, वेलायत र फ्रान्सको सेनाले आक्रमण तीब्र वनाएको थियो । यसै क्रममा जर्मनीको पश्चिम हिस्सा अमेरिका लगायत पूँजीवादी देशको नियन्त्रणमा गयो भने जर्मनीको पूर्वी हिस्सा सोभियत संघको नियन्त्रणमा गयो ।

विश्ययुद्धको समाप्ती पछि पश्चिम जर्मनीमा अमेरिका समर्थक पूँजीवादी सरकार वन्यो भने पूर्वी जर्मनीमा सोभियत समर्थक साम्यवादी सरकार वन्यो । यसरी जर्मनी दुई देशमा टुक्रियो ।

पश्चिम जर्मनीको पूँजीवादी सरकार र पूर्वी जर्मनीको कम्युनिष्ट सरकारविच विश्वमा एक खालको प्रतिस्पर्धा शुरु भयो । कसले छिटो विकास गर्ने ? कसले जनतालाई वढी सुविधा दिने ? दोश्रो विश्वयुद्धले तवाह गरेको जर्मनीलाई कसले छिटो उकास्न सक्दछ ? यस्ता प्रश्नहरु त्यो वेला उठिरहेको थियो ।

एक ढंगले यो अमेरिकी नेतृत्वको पूँजीवादी व्यवस्था राम्रो कि सोभियत कम्युनिष्ट नेतृत्वको समाजवादी व्यवस्था राम्रो भन्ने प्रतिस्पर्धा शुरु भयो ।

सोभियत संघमाथि हिटलर नेतृत्वको जर्मनीले गरेको चरम विनासकारी आक्रमणले गर्दा सोभियत अर्थतन्त्र निकै ठुलो संकटमा परेको थियो । तर त्यसलाई तीब्र गतिमा समाधान गरेर आफ्नो अर्थतन्त्र वलियो वनाउन सोभियत संघ सफल भयो । वेलायत फ्रान्स आदि देशहरु भने निकै पछाडि परे । अमेरिका दोश्रो विश्वयुद्धमा त्यति धेरै नफँसेकोले यसको अर्थतन्त्र छिटै माथि उक्ल्यो । अमेरिका विश्वको पहिलो आर्थिक शक्ति र सोभियत संघ विश्वको दोश्रो ठुलो आर्थिक शक्ति वन्यो ।

स्तालिनको नेतृत्वमा साम्यवादी देशहरुले ठिकै प्रगति गरिरहेको थियो । पूर्वी जर्मनीमापनि ठिकै प्रगति भैरहेकाे थियाे । तर स्तालिनको सन् १९५३ मा निधन भएपछि सोभियत संघको नेतृत्वमा गम्भीर समस्या देखिन थाल्यो । सोभियत कम्युनिष्ट पार्टीको प्रमुख नेताको रुपमा ख्रुश्चेव आएपछि उनले सोभियत संघलाई पूँजीवादी वाटोमा लग्न थाले । नाम कम्युनिष्ट तर काम पूँजीवादी वाटो तिर । यसको प्रभाव पूर्वी जर्मनी लगायतका देशहरुमा पनि प¥यो । पूर्वी जर्मनी, रुमानिया आदि जस्ता पूर्वी युरोपका कम्युनिष्ट सरकारहरुपनि नाम कम्युनिष्ट तर काम पूँजीवादी वाटोमा लाने हुन थाल्यो ।

यसैको एक परिणामको रुपमा वर्लिनको परखाल वनाउनु पनि हो । पूर्वी जर्मनीको नाम कम्युनिष्ट तर काम पूँजीवादी गर्ने सरकारले देशको तीब्र आर्थिक विकास गर्ने समाजवादी नीति परित्याग गर्दै गयो । तर खुल्ला पूँजीवादी नीति पनि अंगालेन । उनीहरुले राज्य नियन्त्रित नोकरशाही पूँजीवादी नीति अंगाले । यसले गर्दा देशको तीब्र विकास अवरुद्ध भयो । जनतामा असन्तोष छाउन थाल्यो । जनता तीब्र विकास भैरहेको पश्चिम जर्मनी जान थाले । जनतालाइ पूर्वी जर्मनीको सरकारले रोक लगाउन थाल्यो । तर खुल्ला सिमानाको कारण यो सम्भव भएन । पूर्वी जर्मनीको सरकारले अन्तत पश्चिम जर्मनी र पूर्वी जर्मनीको विभाजन रेखामा ठुलो लामो पर्खाल वनाउन थाल्यो, जसलाई वर्लिन पर्खाल भनेर चिनियो ।

पूर्वी जर्मनीको नाम कम्युनिष्ट तर काम पूँजीवादी गर्ने सरकारले जनतालाई करिव ३० वर्ष झुक्याउने, अल्मल्याउने, दमन गर्ने आदि मा सफल रह्यो । तर अन्ततः जनताको विद्रोहात्मक आन्दोलनकासामु पूर्वी जर्मनीको नक्कली कम्युनिष्ट सरकार टिक्न सकेन । सन् १९८९मा जनताको आन्दोलनले त्यो सरकार ढल्यो । संगै वर्लिनको सो पर्खालपनि भत्काइयो । पूर्वी जर्मनी पनि पश्चिम जर्मनीमा गाभेर एउटै जर्मनी वन्यो ।

यी घटनाहरुको निश्कर्ष यो हो— कि त जनपक्षीय सक्कली कम्युनिष्ट सरकारले नै जनताको र देशको प्रगति गर्न सक्दछ, कि त सक्कली पूँजीवादी सरकारले नै भएपनि केही प्रगति जनताको लागि गर्न सक्दछ । तर नक्कली कम्युनिष्ट सरकारले अर्थात नाम कम्युनिष्ट तर काम पूँजीवादी गर्ने सरकारले देश र जनतालाइ वरवादीको दिशामा लान्छ ।

नेपालमा कस्तो सरकार छ र कता लगिरहेको छ भन्ने तथ्य केही समय पछि अझ प्रष्ट हुने देखिन्छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्