Logo
Logo

राष्ट्रपतिकाे राजीनामा माग्दै जसपाद्वारा मधेसमा साताव्यापी आन्दोलन घोषणा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै चरणवद्ध साताव्यापी आन्दोलनको घोषणा गरेको छ ।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपतिले मंगलबार प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् । संविधानको प्रावधानअनुसार नागरिकता विधेयक पारित गर्नुपर्नेमा राष्ट्रपतिले अस्वीकार गरेपछि त्यसको विरोधमा जसपाको मधेश प्रदेश समितिले राजीनामा माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसपाले मधेशमा शनिबारदेखि शान्तिपूर्ण आन्दोलन गरिने जनाएको छ । त्यस्तै, बुधबार र बिहीबार पनि मधेशका ८ वटै जिल्लामा राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गर्ने जसपाले जनाएको छ ।

असोज ८ गते प्रदेशका सबै जिल्ला सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमका सन्दर्भमा नागरिक समाजलगायतसँग अन्तरक्रिया गरिने, असोज ११ मा भ्रातृ संगठनले राष्ट्रपतिविरूद्ध प्रदर्शन गर्ने र राष्ट्रपतिको पुत्ला दहन गर्ने कार्यक्रम रहेको जसपा मधेश समितिका सचिव दिनेश यादवले जनाएका छन् ।

त्यस्तै, असोज १३ गते पालिका तहमा अन्तरक्रिया गर्ने, १५, १६ र १७ मा पालिका र वडा तहमा राष्ट्रपतिको कदमविरूद्ध अन्तरक्रिया गरिने पनि उनले बताएका छन् ।

राष्ट्रपतिले संविधानतः नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्नेमा त्यो नगरेर संविधानलाई नै च्यातचुत पार्न खोजेको भन्दै राष्ट्रपतिको यो कदमले व्यवस्थामाथि खतरा रहेको जसपाको निष्कर्ष छरहेको उनले बताए । जसपाले राष्ट्रपतिले तुरुन्त राजीनामा दिनुपर्ने समेत जनाएको छ ।

संविधानको संरक्षक रहेका राष्ट्रपतिबाटै संविधानको मर्मविपरीत कार्य भएकाले पदमा बसिरहन नमिल्ने जसपाल जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्