Logo
Logo

मन्त्रीकी श्रीमतीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर




काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश मन्त्रीकै श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घ बहादुर सोडारीकी श्रीमती गिता सोडारीविरुद्ध अख्तियार आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार गिताविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।


कैलालीको धनगढी उपमहानगरपालिका ९ स्थित शिव माविमा गिताले राहत शिक्षकका रुपमा काम गरेकी थिइन् । बोर्ड अफ सेकेन्डरी इजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो ।

अख्तियारको बिज्ञप्तीमा भनिएको छः

जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका वडा नं. ९, स्थित श्री शिव निम्न माध्यमिक विद्यालय (हाल मा.वि.) देवरिया कैलालीमा कार्यरत प्राथमिक तहका राहत शिक्षक गिता सोडारीको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा श्री शिव माध्यमिक विद्यालय देवहरियामा कार्यरत प्राथमिक तह राहत शिक्षक गिता सोडारीले Board of Secondary Education, Delhi भारतबाट एउटै तहका दुई ओटा माध्यामिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली बनाई ल्याई आफ्नो योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने वदनियत राखी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले  निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित झुट्टा प्रमाणपत्र पेश गरी भष्टाचारको कसुर गरेको देखिँदा निज शिक्षक गिता सोडारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

प्रतिक्रिया दिनुहोस्