Logo
Logo

सशस्त्र प्रहरी र एसएसबीबीच समन्वय बैठक हुँदै




काठमाडौं । सीमा क्षेत्रका सुरक्षा चुनौतीबारे छलफल र समन्वयका लागि सशस्त्र प्रहरी बल (एपिएफ) र भारतको सशस्त्र सीमा बल(एसएसबी) बीच मंगलबारदेखि समन्वय बैठक बस्ने भएको छ । हरेक वर्ष हुँदै आएको यस्तो बैठक यसपटक नेपालमा हुँदैछ ।


बैठकमा भाग लिन सशस्त्र सीमा बलका महानिर्देशक सुजयलाल थाओसेन नेतृत्वको टोली सोमबार नेपाल आउँदै छन् । प्रहरी प्रहरी प्रधान कार्यालयमा मंगलबारदेखि तीन दिन सीमा सुरक्षाका विविध विषयमा छलफल हुँदै छ । गत वर्ष असोजमा भारतको नयाँदिल्लीमा समन्वय बैठक बसेको थियो । सीमा सुरक्षामा खटिएका दुई सुरक्षा निकायबीच समन्वय र सहकार्यका लागि नियमित बैठक बस्न लागेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणी पोखरेलले बताए ।

बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूसमेत सहभागी हुनेछन् । नेपाल–भारतबीच खुला सीमा रहेकाले सीमा क्षेत्रमा सीमापार अपराध प्रमुख सुरक्षा चुनौती रहँदै आएको छ । सीमापार अपराध नियन्त्रण रोकथामका लागि सहकार्य नै बैठकको प्रमुख एजेन्डा हुने सशस्त्र प्रहरीका एक उच्च अधिकारी बताउँछन् । त्यसका साथै चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्कने र सीमामा समस्या भोग्ने गरेकाले उनीहरूलाई सहजीकरणको विषयमा समेत छलफल गर्न लागिएको हो ।

एसएसबी भारतको विशिष्टकृत सुरक्षा फौज हो । जसले नेपाल र भुटानसँगको सीमा सुरक्षा हेर्दै आएको छ । नेपालको तुलनामा सीमामा भारतीय सुरक्षा फौजको उपस्थिति बाक्लो छ । नेपालसँगको सीमामा एसएसबीका पाँच सय दुई पोस्ट छन् भने नेपालको दुई सय २७ वटा मात्र छन् । नेपालको बिओपीमा जनशक्ति र स्रोत साधनको समेत अभाव छ । ०६९ देखि यस्तो बैठक बस्दै आएको छ । तर, बीचमा केही वर्ष बैठक नियमित हुन सकेन । यसपटक छैटौं बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्