Logo
Logo

भिजिट भिसामा कम्बोडिया मानवतस्करी, मेनपावर नै संलग्न




काठमाडौं । भिजिट भिसामा कम्बोडिया पठाएर बन्धक बनाई अवैध काममा लगाउने मेनपावार सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सिनामंगलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक सप्तरीका उदितनारायण साहलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।


महोत्तरीका एक युवकलाई गत चैत २७ मा उनले दुबई हुँदै भिजिट भिसामा कम्बोडिया प¥याएका थिए । त्यहाँ चिनियाँहरुले सञ्चालन गरेको कल सेन्टरमा बन्धक बनाई अनलाइनमार्फत हुने ठगीको काममा लगाइएको थियो । त्यहाँ रहँदा आफुलाई करेन्ट लगाउने लगायत यातना समेत दिइएको पीडितले बताएका छन् । गत २२ भदौमा थाइल्यान्डस्थित नेपाली दूतावास तथा गैरआवासिय नेपाली संघ, कम्बोडियाको पहलमा उनको उद्धार भएको थियो ।


उद्धार गरिएका युवकको जाहेरीका आधारमा मेनपावर सञ्चालक र दुई कर्मचारीलाई समेत पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी दानबहादुर मल्लले बताए । मेनपावरका पब्लिक रिलेसन अफिसर दिवाकर झा र रिसेप्सनिष्ट राखी भन्ने कुमारी सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।


साथीमार्फत चिनजान भएकी राखी सिंह मार्फत पीडित युवक सो मेनपावरमा पुगेका थिए । कम्बोडियाले अन्य देश नघुमेका नेपालीलाई ‘अन अराइभल भिसा’ सहजै नदिने भएकाले केही दिन दुबईमा राखेर त्यहाँबाट कम्बोडिया लगिएको थियो । त्यहाँ लैजान मेनपावरले उनीसँग तीन लाख ८० लाख रुपैयाँ लिएको थियो ।


आफुलाई अवैध काममा लगाइएको थाहा पाएपछि उनले नेपाल फर्काइदिन आग्रह गरे । तर, बन्धक बनाई यातना दिएर काममा लगाइएको पीडितको भनाई छ । ‘१३ पटक त इलेक्ट्रिक सक लगाए, पानीको जारले हान्नेदेखि अनेक यातना दिन्थे,’ पीडित युवकले भने ‘चार महिनाको प्रयासपछि बल्लतल्ले बाँचेर त्यो नरकबाट बाहिर निस्कन पाएँ ।’


गएकै दिनदेखि उनको पासपोर्ट र मोबाइल चिनियाँ गिरोहले खोसेकाले उनले परिवारसँग समेत कुरा गर्न पाउँदैन थिए । कम्बोडियामा रहेका बंगलादेशी एजेन्टले उनलाई तीन हजार पाँच सय ५० डलरमा बिक्री गरेका थिए । ‘तँलाई हामीले किनेका हौँ, बाहिर कसैसँग कुरा गरेको थाहा भए सीधै मारिदिन्छु भनेर धम्क्याउँथे,’ पीडित भन्छन्, ‘सँगै काम गर्ने एक कम्बोडियन साथीको मोबाइलबाट कहिलेकाहीँ परिवारलाई फोन गर्न पाउँथे ।’ त्यहाँ गाईको मासु खान दिने र चरम यातना हुने भएकाले आफू डिप्रेसनमा गएको उनको भनाई छ ।


भिजिट भिसा लिएर कामको खोजीमा करिब चार सय नेपाली कम्बोडिया पुगेको आकलन छ । पछिल्लो समय कम्बोडिया प्रहरीले यस्ता कल सेन्टरमा छापा हान्ने कामलाई तीव्रता दिएको एनआरएन कम्बोडियाका अध्यक्ष लालसिंह खड्का बताउँछन् । थाइल्यान्ड, बंगलादेशलगायतका देशबाट समेत त्यसरी रोजगारीको प्रलोभनमा लगी बन्धक बनाएर अवैध काममा लगाइने गरेकामा पटक–पटक उद्धार भएका छन् ।


मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी दानबहादुर मल्ल पछिल्लो समय कम्बोडियालगायत दक्षिण पूर्वी एसियन देशमा भिजिट भिसामा मानव तस्करी बढ्न थालेको बताउँछन् । ‘भिजिट भिसामा लगेर त्यहाँ अवैध काममा लगाउने गरेको उजुरीमाथि अनुसन्धान भइरहेको ,’ उनी भन्छन्, ‘केहीलाई पक्राउ गरी थप व्यक्तिमाथि छानबिन भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्