Logo
Logo

एकीकृत समाजवादीको प्रतिवद्धता : आधारभूत स्वास्थ्यमा निःशुल्क उपचार


378
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सम्पूर्ण नेपालीले निःशुल्क स्वास्थ्य उपचार पाउनुपर्ने अवधारणा ल्याएको छ ।
सोमबार एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै स्वास्थ्य उपचार जनताको मौलिक अधिकार भएकाले निःशुल्क उपचारलाई प्राथमिकतामा राखेको हो ।

‘निःशुल्क स्वास्थ्य उपचार, जनताको मौलिक अधिकार’ शीर्षकमा एकीकृत समाजवादीले जनतालाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य सेवालाई राख्ने उल्लेख गरिएको छ ।

निःशुल्क स्वास्थ्य उपचार ः जनताको मौलिक अधिकार

१, ‘निःशुल्क स्वास्थ्य उपचार, जनताको मौलिक अधिकार’ भन्ने नारालाई कार्यान्वयन गर्न आम जनतालाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य सेवालाई राख्ने

२, प्रत्येक प्रदेश सदरमुकाममा डायोग्नोसिस केन्द्र, ट्रमा सेन्टर, अप्रेसन थिएटर, आइसियु तथा भेन्टिलेटर सेन्टरहरूसहितका एक हजार, नगरपालिकाको केन्द्रमा कम्तीमा एकसय र गाउँपालिकाको केन्द्रमा कम्तीमा पच्चिस शैयाका अस्पताल स्थापना र सञ्चालन गर्ने ।

३, विकट गाउँहरूका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्ने र आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप तथा विपद् र महामारीबाट हुने घाइते तथा विरामीहरूको उद्धार र सम्पूर्ण उपचार निःशुल्क गराउन पहल गर्ने

४, क्यान्सर, मुटुरोग, मिर्गाैला रोग, मधुमेह, उच्च रक्तचाप आदि घातक रोगका औषधि र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउन र क्यान्सर, मुटु, मृगौला, कलेजोको रोगलगायत जटिल र दीर्घ रोग लागेका बिरामीलाई उपचार र औषधि खर्चवापत मासिक पाँच हजार सहयोग उपलब्ध गराउन पहल गर्ने, मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको जटिल शल्यक्रियाहरू सरकारको तर्फबाट गर्ने व्यवस्था मिलाउने र मिर्गौला रोगीका लागि डायलोसिस तथा प्रत्यारोपण सेवा निःशुल्क गर्न पहल गर्ने ।

५, सरकारी अस्पतालमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले निजी क्षेत्रमा काम गर्न नपाउने व्यवस्था कडाइका साथ लागु गर्न पहल गर्ने, सरकारी अस्पतालका कार्यरत स्वास्थ्यकर्मीहरूको सेवा सुविधा क्रमशः वृद्धि गर्दै लैजाने र योगदानका आधारमा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने तथा वृत्तिविकास लागि विशेष प्राथमिकता प्रदान गर्ने ।

६, एक हजार क्षमता भएका जिल्ला, प्रादेशिक तथा केन्द्रीय अस्पतालहरूलाई स्टाप नर्स, हेल्थ एसिस्टेन्ट, फार्मेसी, ल्याव टेक्निसियन जस्ता विषयहरू अध्ययन गराउन दिने गरी अनुमती प्रदान गर्ने ।

प्रतिक्रिया दिनुहोस्