काठमाडौं । नेकपा एकीकृत समाजवादीले हाल यातायात क्षेत्रमा विद्यमान समस्याको रुपमा रहेको सिण्डिकेट प्रथालाई खारेज गर्ने प्रतिवद्धता जनाएको छ ।
साथै, सरकारी स्वामित्वमा रहेका तर बिग्रेका सवारी साधनलाई मर्मत गरेर सञ्चालन गर्न सकिनेलाई सञ्चालन गर्ने तथा सकेसम्म विद्युतीय सवारीमा परिवर्तन गर्ने पनि जनाएको छ । सोमबार सार्वजनिक गरिएको पार्टीको चुनावी घोषणापत्रमा यातायात सिण्डिकेटको खारेज गरी सर्वशुलभ र प्रतिस्पर्धी बनाउन जोड दिने जनाएको हो ।

सडक पूर्वाधार र सुरक्षित यातायात : आर्थिक समृद्धिको आधार
–सहज तथा सुरक्षित सडक यातायातका लागि जथाभावी सडक निर्माण गर्ने कार्यका रोक लगाउने र सडक निर्माण गर्नु पूर्व सडकका नाममा जग्गाको नक्शा पास गराएरमात्र निर्माण सुरु गर्ने आदि कार्यमा जोड दिने ।
–नेपालका राष्ट्रिय तथा क्षेत्रीय राजमार्गहरूलाई एशियाली स्तरमा स्तरोन्नती गर्ने, जिल्ला र पालिका स्तरका सडकहरूको स्तरोन्नती गर्ने, ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडकहरूलाई कृषि सडकमा रूपान्तरण गर्ने ।
–राष्ट्रव्यापी सडक सञ्जाल निर्माण गर्दा आवश्यकताअनुसार उच्च पुल र सुरुङ प्रविधिको व्यापक प्रयोग गर्ने, काठमाडौँ–तराई द्रुतमार्ग तीन वर्षभित्र निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र छ लेनमा र मध्यपहाडी पुष्पलाल लोकमार्ग र हुलाकी राजमार्ग चार लेनमा स्तरोन्नति गर्ने, मदन भण्डारी राजमार्ग निर्माण आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने र कर्णाली, गण्डकी, कोशी कोरिडोर लगायत उत्तर–दक्षिण राजमार्ग र तराईका सबै जिल्लामा पूर्व–पश्चिम राजमार्गदेखि नेपाल–भारत सिमानासम्म राजमार्ग निर्माण गर्न पहल गर्ने ।
–यातायात सिन्डिकेटलाई खारेज गरी यस क्षेत्रमा रहेका तमाम विकृति र विसङ्गति अन्त्य गर्न र सार्वजनिक यातायातलाई सस्तो, सर्वशुलभ र प्रतिस्पर्धी बनाउन जोड दिने ।
–सरकारी स्वामित्वमा रहेका तर बिग्रेर सवारी साधनलाई मर्मत गरेर सञ्चालन गर्न सकिनेलाई सञ्चालन गर्ने तथा सकेसम्म विद्युतीय सवारीमा परिवर्तन गर्न आवश्यक बजेटको व्यवस्था गर्ने, मर्मत गर्न नसकिने सवारी साधनलाई लिलाम गर्न वर्तमान कानुन तथा नियमलाई सरलिकरण गर्ने ।












