
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा एकीकृत समाजवादीले ८ बुँदामा नीतिगत प्रतिवद्धता जनाएको छ भने ४१ बुँद्धामा कार्यक्रमिक प्रतिवद्धता जनाएको छ । घोषणापत्रमा एमालेबाट विद्रोह र पार्टी पुनःगठन तथा विगतका प्रयासहरु समेत उल्लेख छ ।
घोषणापत्रको प्रारम्भमा नेकपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदान भण्डारी र मनमोहन अधिकारीप्रति एकीकृत समाजवादीले उच्च सम्मान व्यक्त गरेको छ ।
पुष्पलाल, मदन र मनमोहनप्रति उच्च सम्मान व्यक्त गरेको एकीकृत समाजवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिष्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली भएको नेताको रुपमा आक्षेप लगाएको छ ।
घोषणापत्रमा एकीकृत समाजवादीले एमाले, एमाले अध्यक्ष ओली र एमालेबाट विद्रोह गर्नुको कारणबारे भनेको छ– ‘…केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीतिप्रति नै वितृष्णा उत्पन्न हुन गयो । हामीले नेकपा (एमाले) मा व्याप्त दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिष्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली सुधार्नका लागि धेरै प्रयास ग¥यौँ । एमाले नेतृत्वलाई सुधार्न र ठिक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह गर्याैँ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गरी अहिले हामी ‘कलम’ चुनाव चिन्ह लिएर यहाँहरूमाझ आएका छौँ ।’
विद्रोह र पार्टी पुनर्गठनबारे एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख भएको बुँदा–
हाम्रो विद्रोह र पार्टी पुनर्गठन
वि.सं. २०७४ सालको आमनिर्वाचनमा हामी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनावी गठबन्धन बनाई यहाँहरूबिच आएका थियौँ र झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा सङ्घीय सरकार निर्माण गरिएका थियौँ । त्यस सरकारले जनअपेक्षाअनुरूप र चुनावका बेला जनता समक्ष प्रस्तुत प्रतिवद्धता अनुरुप काम नगरी भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएका कारण आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र राजनीतिप्रति नै वितृष्णा उत्पन्न हुन गयो । हामीले नेकपा (एमाले) मा व्याप्त दक्षिणपन्थी अवसरवाद, गैरकम्युनिष्ट विचार, गलत आचरण र षड्यन्त्रकारी कार्यशैली सुधार्नका लागि धेरै प्रयास ग¥यौँ । एमाले नेतृत्वलाई सुधार्न र ठिक ठाउँमा ल्याउन नसकिने ठहर गरिसकेपछि हामीले विद्रोह गर्याै र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गठन गरी अहिले हामी ‘कलम’ चुनाव चिन्ह लिएर यहाँहरूमाझ आएका छौँ ।












