Logo

बाङ्देलका चेला : एकै कलाकृतिमा


Published On : 26 August, 2019

– श्याम रिमाल

आधुनिक नेपाली कला जगत्मा सोमा एउटै छुट्टै जमातका रुपमा उदाएको एक दशक नाघिसकेको छ । समसामयिक कलाको विकासमा यस समूहले दिएको योगदान सराहनीय छ । बीसको दशकदेखि नेपालमा आधुनिक कलाको विकासमा लैनसिंह बाङ्देलले व्यक्तिगत र संस्थागत रुपमा दिएको योगदान सबैलाई विदितै छ । युरोपबाट फर्केपछि उनले तीन चरणमा गरी युवा नेपाली चित्रकारलाई दिएको प्रशिक्षण कालान्तरमा एउटा कोशेढुङ्गा नै सावित भयो र त्यही पदचापमा टेकेर अहिले समसामयिक कलाको बाटामा अधिकांश कलाकार यात्रा गरिरहेको स्पष्ट नै छ ।

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाह र युरोप भ्रमणमा गएका जङ्गबहादुरबाट आधुनिकतामा योगदान दिएको भन्नेबारे लेखकले स्पष्टैसँग आपत्ति जनाएका छन् । दुई सय पचास वर्ष पहिलेको पृथ्वीनारायणकालीन मान्यता र धारणा अहिले कसरी आधुनिक हुन सक्छ भन्ने उहाँको प्रश्न छ । राजालाई नियन्त्रणमा लिएर निरङ्कुश र शोषणयुक्त शासन चलाउन शुरु गर्ने जङ्गबहादुरबाट आधुनिकता शुरु भयो भन्ने हामी कस्ता मानिस भन्ने प्रश्न उठाउँदै लेखक युरोपबाट यथार्थबाट, तैलरङ, क्यानभास, पस्र्पेक्टिभ, प्रकाश र छायाजस्ता प्रविधि ल्याए पनि २४०० वर्षअघिको ग्रीक आर्टको यथार्थवाद र पन्धौँ सोह्रौँ शताब्दीको रेनेसाँकालमा प्रयोग भएका प्रविधि नेपालमा भित्र्याएर आधुनिक भनिनुप्रति कसिलो व्यङ्ग्य गर्नुहुन्छ । सात सालदेखि पश्चिमा वाद र प्रविधि भित्र्याएको र त्यसैलाई नक्कल गरेर हामी कसरी आधुनिक हुन सक्छौँ भन्ने प्रश्न गर्दै सय वर्षअघिको प्रविधि प्रयोग गर्दा वा अरुको नक्कल गर्दा हामी अभिनेता बढी र कम कलाकार भएको उहाँको ठम्याइ छ ।

स्किब, याग, नेपाल कलाकार समाज, न्यू आर्ट सर्कल, आरम्भजस्ता विभिन्न समूह वा संस्था खोलेर नेपाली कलाकारले सङ्गठित हुने प्रयास गरेका छन् । एक दशकअघि सोमाले त्यही जमर्काे गरेको हो र अहिले एघारौँ वर्षमा हिँडिरहँदा यसले पाँचाँै कला प्रदर्शनी गर्न भ्याइसकेको छ । सोमामा आबद्ध कलाकार दुई जना कलाकार नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यसम्म भइसक्नुभएको छ । तिनका गतिविधिप्रति नेपाली कलासमीक्षकहरु रामै्रसँग परिचित छन् र तिनबारे मिडियामा प्रचारप्रसार पनि भइरहेको छ । यसै मेसोमा नेपाली कलासमीक्षामा परिचित हस्ताक्षर नेपाल ललितकला क्याम्पसका सहायक क्याम्पस प्रमुख डा यामप्रसाद शर्माले अङ्ग्रेजी भाषामा ‘कन्टेम्पोररी नेपाली पेन्टिङ्सः अ डिष्टिङ्क्ट क्लष्टर’(सममामयिक नेपाली चित्रकलाः एक पृथक् समूह) प्रकाशनमा ल्याउनुभएको छ । कृति सोमामा आबद्ध कलाकारका मात्र व्यक्तित्व र कलाकारितामा केन्द्रित छ । अङ्ग्रेजी साहित्य र कला इतिहासमा प्राध्यापनरत बागलुङका डा शर्माको यसअघि नेपाली पेन्टिङ्सः अ क्रिटिकल एनालाइसिस र अल्टरनेटिभ आर्टः सिफ्टिङ ट्रेन्डस इन एस्थेटिक्स शीर्षकका दुई कृति प्रकाशन भइसकेका छन् । विसं २०६६ मा ‘कन्टेम्पोररी नेपाली पेन्टिङ्सः हाइब्रिडिटी एण्ड नेगोशियशन’मा विद्यावारिधि गर्नुभएका उहाँ हाल पनि समसामयिक नेपाली चित्रकला र कलासम्बन्धी पुस्तकमाथि समीक्षामै संलग्न हुनुहुन्छ । उहाँले सोमाका यसअघिका प्रदर्शनीका पुस्तिका बनाउन पनि योगदान गर्नुभएको थियो । नेपाली परम्परागत वा प्राचीन र मध्यकालीन कला विषयमा केही ठूल्ठूला पुस्तिका आए पनि समसामयिक कलामा कमै पुस्तक प्रकाशन भएका सन्दर्भमा डा शर्माको यो लेखनी समसामयिक कलामा रुचि राख्नेका लागि उपयोगी देखिन्छ ।

अङ्ग्रेजीमा लिखित भए पनि सोमाबाट प्रकाशित प्रस्तुत विमोचित कृतिबारे मलाई नेपालीमै बोल्ने अवसर दिएकामा म सोमाप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । लेखकले कलाकारसँग प्रत्यक्ष भेटेर तथा उहाँहरुका चित्रकला, पुस्तिका र अन्य कागजात अध्ययन गरी छ महिनामा तयार गरिएको प्रस्तुत कृति तीन भागमा विभाजित छ ः नेपाली कलामा आधुनिकता, सोमाका कलाकारहरुको व्यक्तिगत चित्रकारिता र निष्कर्ष अर्थात् ऐनामा आफ्नै मुहार हेर्दा । पहिलो भागमा उहाँले आधुनिक चित्रकार र चित्रकारिताको विशेषताबारे प्रकाश पार्नुभएको छ । आधुनिक कलाकारहरुले वर्तमान समयलाई टिपेको, मानिसको जीवन, भावना, मनोदशा, आचरण, काम, जीवनको अवस्था र रहनसहनलाई झल्काएको, मानिसका बाहिरीभन्दा भित्री अवस्थालाई जोड दिएको, प्रकृति, वस्तु र घटनामा आफ्ना विचार दिएको, निर्जीवतालाई मानवीय स्पर्श दिएको, आधुनिक मानवका जटिलताको खोजी गरेको, परम्परालाई टिपेर वर्तमानमा आधुनिक प्रविधि प्रयोग गरेको, परम्परा र आधुनिकताबीच सन्तुलन ल्याउन खोजेको तथा आफ्नो जरा वा धरातललाई नछाडी कला क्षितिजलाई अझ फराकिलो बनाएको उल्लेख गर्नुभएको छ । उनीहरुले जथाभावी रङ र रेखा कोरेर दर्शकलाई नठगेको बरु हाम्रो वर्तमान समय र सन्दर्भ जस्तै दुःखसुख, समस्या र अनुभवलाई उठाएको कुरा लेखकले जनाउनुभएको छ ।

सोमामा आबद्ध चिनीकाजी ताम्राकार, शङ्करनाथ रिमाल, शङ्करराजसिंह सुवाल, हेम पौडेल, गोविन्द डङ्गोल, श्यामलाल श्रेष्ठ, हरि खड्का, जीवन राजोपाध्याय, नरेशसुन्दर संैँजुृ, टार्जन साङ्पाङ, रत्नकाजी शाक्य, रमाराज मास्के र कान्ति न्यौपाने तथा दिवङ्गत हीरालाल डङ्गोल, कर्ण मास्के र शान्तकुमार राईले पनि आजको जटिलता र सन्दर्भलाई दृष्यात्मक सौन्दर्यात्मक रुप दिएको उहाँको अध्ययन छ । उहाँहरुका गुरु बाङ्देल स्वयंले आफ्ना शिष्यहरुका कलाकृतिले आफ्नो समय र स्थान पक्रेको तथा कलामा अर्गानिक युनिटी, रिदम र कम्फोर्टेबल कलर हार्माेनी पाएको उल्लेख गर्नुभएको छ । सोमाका वरिष्ठ सदस्य तथा नेपाल कला परिषद्का महासचिव शङ्करनाथ रिमाल पनि बाङ्देलको निर्देशन र निरन्तरको प्रोत्साहनबाट आफूहरुले चित्रकलामा जलरङलगायत धेरै विभिन्न प्रविधि सिकेको बताउनुहुन्छ । नेपालमा त्यसअघि नदेखिएको नयाँ प्रवृत्तिसँग आफूहरु परिचित हुन पाएकामा उहाँ गौरव गर्नुहुन्छ । त्यो नेपाली समसामयिक कलामा ऐतिहासिक घटना भएको र अन्तरराष्ट्रिय ख्यातिप्राप्त कलाकारले युवाको समूहलाई पहिलो पटक औपचारिक रुपमै समय र परिश्रम गरी नेपाली चित्रकलामा नयाँ युगको सूत्रपात गरेको उहाँको भनाइ छ । यो समूहका कलाकारको काममा आफ्नै गुरुको अदृष्य रङ, संयोजन र तुलिकाघात देख्न सकिने लेखकको ठम्याइ छ । तिनको आआफ्नै पहिचान र विशेषता भए पनि तिनको काममा समग्रमा परम्परामा आधारित भएर शैली र प्रविधिमा आधुनिकता पाइन्छ । कलाकारले तयार गरेका परम्परागत मण्डल, टुँडाल, तोरण, स्तूप, भित्तेचित्र, देवदेवी, तिनका बाहन, र सम्बन्धित प्रतीक वा विम्व पाइन्छ जुन विश्वमा चलेका प्रभाववाद, घनवाद, अभिव्यञ्जनावाद, अमूर्तनवाद, अतियथार्थवाद र अमूर्त अभिव्यञ्जनावादबाट प्रेरित छन् । तिनमा स्रष्टाका आन्तरिक भावना, अनुभव र संवेदना पोखिएका छन् । कसैले धार्मिक, सामाजिक, आर्थिक विषय उठाएका छन् । कसैले पीडित महिलाको अवस्था देखाएका छन् । इतिहास, प्रार्थना, पूजा, र जात्रापर्व तथा ग्रामीण बस्ती, छाप्रो, झुपडी, जनजातीय समुदाय, गाउँको शान्ति र सद्भाव आदिका माध्यमबाट ग्रामीण गौरव पनि कुनै कलाकारद्वारा प्रस्तुत गरिएका छन् ।

दोस्रो भागमा हरेक कलाकारको व्यक्तित्व र कृतित्वबारे आर्ट इलेमेन्टसका माध्यमबाट छुट्टाछुट्टै विस्तृत वर्णन गरेर लेखकले कलाकारलाई अझ राम्रोसँग बुझाउन खोज्नुभएको छ ।

यति कुरा वर्णन गरेर पनि लेखकले आधुनिक शब्द नै भ्रमात्मक र सन्देहात्मक भएको विचार उल्लेख गरेर एउटा रमाइलो बहसको थालनी गर्नुभएको देखिन्छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाह र युरोप भ्रमणमा गएका जङ्गबहादुरबाट आधुनिकतामा योगदान दिएको भन्नेबारे लेखकले स्पष्टैसँग आपत्ति जनाएका छन् । दुई सय पचास वर्ष पहिलेको पृथ्वीनारायणकालीन मान्यता र धारणा अहिले कसरी आधुनिक हुन सक्छ भन्ने उहाँको प्रश्न छ । राजालाई नियन्त्रणमा लिएर निरङ्कुश र शोषणयुक्त शासन चलाउन शुरु गर्ने जङ्गबहादुरबाट आधुनिकता शुरु भयो भन्ने हामी कस्ता मानिस भन्ने प्रश्न उठाउँदै लेखक युरोपबाट यथार्थबाट, तैलरङ, क्यानभास, पस्र्पेक्टिभ, प्रकाश र छायाजस्ता प्रविधि ल्याए पनि २४०० वर्षअघिको ग्रीक आर्टको यथार्थवाद र पन्धौँ सोह्रौँ शताब्दीको रेनेसाँकालमा प्रयोग भएका प्रविधि नेपालमा भित्र्याएर आधुनिक भनिनुप्रति कसिलो व्यङ्ग्य गर्नुहुन्छ । सात सालदेखि पश्चिमा वाद र प्रविधि भित्र्याएको र त्यसैलाई नक्कल गरेर हामी कसरी आधुनिक हुन सक्छौँ भन्ने प्रश्न गर्दै सय वर्षअघिको प्रविधि प्रयोग गर्दा वा अरुको नक्कल गर्दा हामी अभिनेता बढी र कम कलाकार भएको उहाँको ठम्याइ छ । यो प्रश्न स्वयं आधुनिक कलाकारको संस्था सोमा र यसका सङ्गठकहरुप्रति तथा सम्पूर्ण कलाजगत्लाई हो भन्ने मलाई मलाई लाग्छ ।

हाम्रो आधुनिकताको मापदण्ड यथार्थवाद, अमूर्तवाद र पश्चिमी रुप र प्रविधि नभई हाम्रै सन्दर्भलाई लिनुपर्ने उहाँको निष्कर्ष छ । हामी को हौँ भन्ने चिनी हाम्रो भावना, संस्कृति, चालचलन, काम, दर्शन र कलालाई नै हामीले अपनाउनुपर्ने बताउँदै लेखकले हाम्रो प्रगति र सभ्यतालाई हेर्न, हाम्रै गुरुकुल, पोखरी, पाटीपौवा, चौतारी, वरपीपल–शमीतिर दृष्टि दिन र हाम्रो जीवनमा तिनको महत्वतिर ध्यान दिन र यसबाटै आफ्नो स्थिति पहिल्याउन कलाकारलाई आग्रह गर्नुभएको छ । विगतका सबै परम्परागत र वर्तमानका सबै आधुनिक भन्न छाडी आफ्नो चालचलन र भावनाबाटै आधुनिक भनिनुपर्नेमा लेखकले जोड दिनुभएको छ । खानाको खोजीमा भन्दा वास्तविक कलाकार र मान्छे बन्न तथा आफ्नो मूल्याङ्कन आफैँ गरेर र आफ्नोपनको खोजी गरेर समसामयिक कलाकार बन्न उहाँले आजका सबै आधुनिक कलाकारलाई आह्वान गर्नुभएको छ । आधुनिकताबारेको उहाँको विचारमा सबै सहमत हुन्छन् भन्ने चाहिँ छैन ।

सोह्र जना कलाकार प्रत्येकलाई भेटेर, कुराकानी गरेर तथा तिनको कलाकृति र अन्य दस्तावेज अध्ययन गरेर विस्तृत रुपमा तिनको कलाकारिताबारे चिनाउन लेखकले गरेको मेहनत प्रशंसनीय छ । अङ्ग्रेजी भर्खर सिक्न थालेकाहरुले पनि बुझ्न सकिने सरल र लालित्यपूर्ण भाषा भएकाले पुस्तक किन्दा फाइदा नै होला । कुनै कलाकारलाई दुई हजार र कुनैलाई ८०० शब्द मात्र खर्च गर्नुचाहिँ अमिल्दो देखिन्छ । लेखकले नेपालको कला र आधुनिक कलाको विकासक्रम तथा इतिहासबारे हातै हाल्नुभएको छैन भने सोमा आबद्ध कलाकारका मेण्टर बाङ्देललाई रिनोण्ड मोडर्न नेपाली आर्टिष्ट, राइटर, आर्ट हिष्टोरियन एण्ड द देन चान्सलर अफ रोयल नेपाल एकेडेमी मात्र भनेर पन्छिनुभएको छ । सोमाभन्दा अघि बाङ्देलकै अभिभावकत्वमा गठित न्यू आर्ट सर्कलबारे पनि केही शब्द छैन भने सोमा संस्था स्वयं र यसका गतिविधिबारे कृति मौन छ । यसले गर्दा कृति एकाङ्गी र निकै अपूर्ण भएजस्तो लाग्छ । कृतिमा प्रशस्त सन्दर्भ सामग्री दिएर अन्य अनुसन्धान गर्न चाहनेलाई लेखकले सजिलो तुल्याउनुभएको छ । नेपाली कला र खासगरी समसामयिक कलाको इतिहासलाई पृष्ठभूमि दिएर कृतिलाई आगामी संस्करणमा पूर्णता दिनुपर्छ भन्ने मलाई लाग्छ । यसमा आवश्यक सामग्री थप गरेर नेपाली भाषामा पनि अनुवाद गर्न सके अझ बेस हुने छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्