
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश भट्टराईलाई स्पष्टीकरण सोधेको छ । आयोगले मंसिर ४ गते हुने आम निर्वाचनको आचारसंहिता विपरित २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा उनलाई स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने’ र खण्ड (ण)मा ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने” व्यवस्था छ ।
एमालेका सचिव भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका- ३ सिकैचामा आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाटसमेत सार्वजनिक भएको भनी उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो ।
‘तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’ आयागले स्पष्टीकरणपत्रमा सोधेको छ ।












