काठमाडौं । पाल्पा–२ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डे बलियो देखिएका छन् । उनी आफ्ना पूर्वसहकर्मी एमालेका नेता ठाकुर गैरेसँग प्रतिस्पर्धा गर्दैछन् । पार्टी एमाले विभाजनसपछि यी दुई पूर्वसहकर्मी पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

यसअघि पाण्डेले यो क्षेत्रबाट चार पटक निर्वाचन जितिसकेका छन् । गैरे भने पहिलो पटक संसदीय निर्वाचन लड्दै गरेका हुन् । पाण्डेले २०७४ को निर्वाचनमा ३४ हजार ८ सय ९९ मत ल्याएर विजयी भएका थिए । त्यसबेला उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार हरि नेपालले २४ हजार ५ सय ५४ मत ल्याएका थिए । यस पटक पाण्डेलाई कांग्रेस, माओवादीलगायतका गठबन्धन दलको समर्थन रहेको छ । त्यसैले पनि पाण्डे बलियो देखिन्छन् ।
यस्तै, गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधारमान्दा पनि गठबन्धन अर्थात पाण्डे अगाडि देखिन्छन् ।
स्थानीय निर्वाचनमा यस क्षेत्रमा एमालेका वडाध्यक्षहरूले ० हजार ५ सय ६६ मत ल्याएका थिए भने गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका वडाध्यक्षहरूले ३३ हजार ७ सय ८५ मत पाएका थिए ।
स्थानीय निर्वाचनमा पाल्पाका १० वटै पालिकामा सत्ता गठबन्धनले वडाध्यक्ष जितेको छ । यो क्षेत्रमा गठबन्धनका तर्फबाट पाण्डेसहित एमालेका गैरे र अन्य दलका १० र तीन जना स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा छन् ।
पाल्पा–२ मा बगनासकाली गाउँपालिका, तानसेन नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२, १३ र १४, तिनाउ गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ र ६, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिकाको वडा नम्बर १ पर्छ ।














