
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आज राति देखि मौन अवधि लागु हुँदैछ ।
निर्वाचन आयोगले राजनैतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारको लागि दिइएको समयको अन्तिम दिन राजनीतिक दलहरु चुनावी सभालाई समापन गर्ने अन्तिम कसरतमा छन् ।
दलका शीर्ष नेताहरू आज पनि सभामार्फत मतदातालाई सम्बोधन गर्न व्यस्त हुने भएका छन् भने उम्मदवारहरु घरदैलोमै केन्द्रित छन् । प्रधानमन्त्री एवंम कांग्रेस सभापति शेरबहादुर देउवाले आज सुदुरपश्चिमका दुईवटा चुनावीसभालाई सम्बोधन गर्ने भएका छन् । चुनावी प्रचारकाे क्रममा सुदुरपश्चिममा पुगेका उनले आज अछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापाले काठमाडौंको कोटेश्वरमा गठबन्धन अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
त्यसैगरी चुनावी प्रचारकै क्रममा गृह जिल्ला झापामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर १ को काँकडभिट्टा र निर्वाचन क्षेत्र नम्बर ५ को खजुरगाछीमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्नेछन ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन् । त्यसपछि मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् ।
आयोगले मतदान शान्त र सुरक्षित बनाउन मतदानको ४८ घण्टा अघि देखि कुनैपनि प्रकारको प्रचारप्रसार भेला र मतदातालाई भ्रमित गर्ने वा मतदानलाई प्रभाव पार्ने क्रियाकलाप नगर्न मौन अवधि लागु गरेको हो ।
यस समयमा उम्मेदवारले कुनै पनि सञ्चार माध्यम समाजिक संजाल मार्फत चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न नमिल्ने आयोगले जनाएको छ । त्यसका साथै आजदेखि छिमेकी मुलुक भारत र चीन संग जोडिएका सबै नाकाहरु पुर्ण रुपमा बन्द गरिनुका साथै मिदरा जन्य पदार्थको बिक्रिवितरणमा रोक लगाएको छ ।














