Logo
Logo

गत निर्वाचनको तुलनामा एमाले, कांग्रेस र माओवादीको मत घट्यो



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको छ ।

यसपटकको निर्वाचनमा नेपालका तीन वटै ठूला दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को समानुपातिकतर्फ अघिल्लो पटकको तुलनामा घटेको छ ।

समानुपातिकतर्फ एमालेले २८ लाख ४५ हजार ६४१ मत ल्याएको छ । यो अघिल्लो निर्वाचनको तुलनामा एमालेको झण्डै ६ लाख कम मत हो । पाँच वर्षअघि एमालेले ३४ लाख ३८ हजार मत ल्याएको थियो ।

यस्तै नेपाली कांग्रेसले पाँच वर्षअघि ३४ लाख १४ हजार मत ल्याएकोमा यसपालि २७ लाख १५ हजार २२५ मत ल्याएको छ । माओवादीले केन्द्रले यसपालि ११ लाख ७५ हजार ६८४मत ल्याएको छ । पाँच वर्षअघि माओवादीले समानुपातिकतर्फ १४ लाख २२ हजार मत ल्याएको थियो ।

ठूला पार्टीको मत घट्दा नयाँ पार्टीले उल्लेख्य मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख ३० हजार ३४४, राप्रपाको पाँच लाख ८८ हजार ८४९, जसपाको चार लाख २१ हजार ३१३ र जनमत पार्टीको तीन लाख ९४ हजार ६५५ मत आएको छ ।

त्यस्तै, एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ मत ल्याएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार ३६७ मत पाएका छन् । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।

यो निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दल बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्