Logo
Logo
दृष्टिको १० हेडलाइन्स्

मतगणना सकिएकोदेखि रातारात मुख्यमन्त्री कार्यालय सारिएकोसम्म



१. प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मतगणना सकियो, कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर, नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल, कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाउँदा नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पायो, राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ३० हजार ३४४ मतसहित चौथो स्थानमा, रप्रपाले पाँच लाख बढी मत पाउँदा नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन सकेन ।


२. स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय दाङ सारियो, ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगियो, अबदेखि मुख्यमन्त्री कार्यालयको काम बुटवलबाट नभई दाङबाटै हुने ।


३. गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध हटाउने मन्त्रिपरिषद् बैठकले निर्णय, ४ प्रकारका विलासी वस्तु २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय, अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने धारण ।


४. दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले भारतलाई पठायो कूटनीतिक नोट, भारतलाई पठाएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख ।


५. कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप, आफूलाई बन्धक बनाएर यौन शोषण गरेको भन्दै एक महिलाले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले थाल्यो अनुसन्धान, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिलाद्वारा राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी, करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप ।


६. प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएसँगै निष्क्रिय भएका दर्जनौँ विधेयक अब फेरि शून्य अवस्थाबाट मात्र सुरु हुने, लामो समय, ठूलो खर्च र झन्झटिलो प्रक्रिया पूरा गर्दै निश्चित विन्दुमा पुगिसकेका त्यस्ता विधेयकले आउँदो प्रतिनिधिसभामा फेरि सुरुदेखिका सबै प्रक्रिया पूरा गर्नुपर्ने, २७ वटा विधेयक निष्क्रिय भएका र १२ वटा विधेयक सरकार आफैँले फिर्ता लियो ।


७. गठबन्धनले नयाँ सरकार गठन गर्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको विश्वास, आगामी सरकारलाई जनताले चाहेको सुशासन, भ्रष्टाचारको अन्त्य, विकास र समृद्धि पूरा गर्नुपर्ने चुनौती रहेको भनाइ, इतिहास रचेको कांग्रेस पार्टीको शाख र विचार आगामी दिनमा जोगाउन र राजनीतिलाई सही बाटोमा लग्ने जिम्मा युवा पुस्तामा हस्तान्तरण गर्नुपर्नेे अभिव्यक्ति ।


८. काठमाडौंमा खानेपानीको समस्याको दीर्घकालीन समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण, काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको प्रतिनिधिमण्डलले ध्यानाकर्षण पत्र बुझायो, आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रधानमन्त्रीको प्रतिबद्धता ।


९. आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव ८८ मा कायम, नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, दुई सय ३८ वटा कम्पनीको २५ लाख ८१ हजार चार सय २५ कित्ता शेयर रु ९६ करोड ५२ लाख १० हजार आठ सय ९९ मा खरिदबिक्री ।


१०. जापानको ज्यालामा सन् २०१५ यताकै सबैभन्दा ठूलो गिरावट, जापानको मुद्रास्फीति अक्टोबरमा समायोजित वास्तविक ज्यालादर एक वर्ष अघिको तुलनामा २.६ प्रतिशतले घट्यो, ऊर्जाको बिल र खाद्यान्नको लागतलगायतका उपभोक्ता मूल्यहरू मात्र ज्यालामा बढेको कारण सूचकाङ्क लगातार सातौँ महिना घट्यो ।

प्रतिक्रिया दिनुहोस्