काठमाडौं । राहदानी विभागले अनिश्चितकालसम्मका लागि राहदानी (पासपोर्ट) छपाइ तथा वितरण रोकेको छ ।
गत पुस १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै विभागले राहदानी छपाइ र वितरण कार्य रोकेको थियो । विभागका निर्देशकसमेत रहेका प्रवक्ता दुरपदा सापकोटाले विभागको सिष्टममा समस्या आएको बताए ।

उनले आज सूचना निकालेर पुस १७ गतेदेखि नै विभागको सिष्टममा समस्या आउँदा छपाइ र वितरण अवरूद्ध भएको जनाएका छन् ।
‘विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिष्टमले पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने भएकोले राहदानीका लागि आवेदन दिएकाहरूले आफ्नो मोबाइलमा एसएमएस आएपछि मात्रै विभाग आउन अनुरोध छ,’ सूचनामा भनिएको छ।
तर नियमित रूपमा राहदानी आवेदनका लागि बुक गरेकाहरूले बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि पनि विभागमा आइदिन आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सचिवहरुलाई निर्देशन दिँदै संघीताको अभ्याससँगै घरदैलोमा नै सेवा पुग्ने जनअपेक्षा पुरा हुन नसकेको बताएका थिए ।
उनले राहदानी, राष्ट्रिय परिचय पत्र र सवारी चालक अनुमति पत्रका लागि घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको भन्दै अब दोहोरिए कारबाही चेतावनी दिएका थिए ।













