
काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर प्रस्थान गरेको ग १ ख ४९७७ नम्बरको बस राति साढे ९ बजे रैनादेवी छहरा ८ खुर्सानेमा दुर्घटना भएको हो । मृत्यु हुने ६ जनाकै परिचय खुलेको छ ।
जसमा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको हो ।
मृतक सबै रैनादेवी छहरा–८ कै हुन्। दुर्घटनामा १८ जना घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको छ । दुर्घटनामा परेको उक्त बस सडकबाट ५० मिटर तल अप्ठ्यारो भीरमा खसेको प्रहरीले जनाएको छ ।












