Logo
Logo

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति


630
Shares

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ ।

यसअघि काठमाडौंबाट मात्रै प्रदान गर्दै आएकामा अब आइतबारदेखि सातवटै प्रदेशबाट प्रदान गर्ने भएको हो । यस क्रममा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालका अनुसार वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समय अघिदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रदान हुँदै आएको छ ।

श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालेको छ । आगामी आइतबारदेखि विराटनगर र जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट समेत सबै किसिमका श्रम स्वीकृति पाइने व्यवस्था हुने भएको सहसचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले बताए ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै श्रम स्वीकृति लिनका लागि भौतिक रुपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्यालाई हटाउँदै अनलाइनमार्फत सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको जनाएको छ ।

पछिल्लो समय श्रम मन्त्रालय र यस मातहतका निकायबाट प्रदान हुने सेवालाई छिटो र सरल रुपमा लिन मिल्ने गरी अनलाइन प्रणालीको विकास गरिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्