काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन् ।

शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकार कुन ढंगले अगाडि बढ्छ त्यसलाई हेरेर मात्रै विश्वासको मत दिने अध्यक्ष नेपालले बताए ।
उनले व्यक्तिगत रूपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणासमेत राखे । उनले भने– ‘विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं । व्यक्तिगत रूपमा प्रचण्डजीप्रति मेरो पोजिटिभ नै धारणा छ । जहाँसम्म सरकार कुन ढंगले अगाडि बढ्छ, त्यो हेरिकन हामी टुंगो गर्छौं । सरकारलाई विश्वासको मत दिन हामीले त धेरै विश्लेषण गर्नुपर्छ । विश्लेषण गरेर बल्ल टुंगोमा पुग्नुपर्छ ।’
अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा प्रस्ताव नआएको पनि बताए । इच्छुक पार्टीहरूसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको उनको भनाइ थियो ।
उनले भने, ‘एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन । व्यक्तिगत भावना राख्नेहरूको बेग्लै कुरा भयो । मप्रति सदभाव राख्नेहरुको कुरा बेग्लै हो । सद्भाव राख्नेहरु सबैलाई धन्यवाद छ । भावना राम्रो हुनु आफ्नो ठाउँमा छ । तर त्यो भावना निजात्मक भइदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ । त्यसकारण तपाईंहरूले भनेजस्तो कुनै ठोस कुरा भएका छैनन् । जुन गाउँ जानु छैन । जब कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा त अगाडि बढिन्छ नै । अब यसमा जो जो इच्छुक हुनुहुन्छ, उहाँहरुसँग हामी हातेमालो गर्छौं ।’
अध्यक्ष नेपालले पार्टीलाई सुदृढ र विस्तार गर्दै जनताकोु इस्युुलाई उठान गरेर अघि बढ्ने काममा आफ्नो पार्टीको ध्यान जाने कुरा दोहोर्याए ।












