काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस कसैलाई प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारेका छन् । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि महामन्त्री शर्माले कसैलाई प्रधानमन्त्रीमा अफर गरेको चर्चा भ्रम मात्रै रहेको जिकिर गरे ।

‘नेपाली कांग्रेस तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन । नेपाली कांग्रेस अहिले यस्तो कुरामा बिल्कुलै संलग्न छैन’, सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रियामा शर्माले भने, ‘नेपाली कांग्रेस अहिले कसैलाई अगाडि लगाएर हामी भर्खरै बाहिरिएको अवस्थामा जिम्मेवार र भूमिकामा रहन छाडेर हामीबाट संस्थागत रूपमा कहीँ पनि त्यस्तो भइरहेको छैन ।’
पार्टीको नेतृत्वले सावधानी अपनाउन नसक्दा राजनीतिक दुर्घटना भएको भन्दै उनले अन्तिम समयमा महामन्त्रीहरूको पनि पर्याप्त हस्तक्षेप नपुगेको स्वीकार गरे । ‘अन्तिम समयमा हाम्रो तर्फबाट पर्याप्त हस्तक्षेप हुनसकेन भनेर हामी पनि आत्मआलोचित हौंला,’ उनले भने, ‘तर पनि दुर्घटना नभएर सेफ ल्यान्डिङ भयो, पाइलटको प्रशंसा हुन्छ, दुर्घटना भइहाल्यो भने कोपाइलटलाई दोष लगाउन थालियो भने त्यो पनि राम्रो हुँदैन ।’












