Logo
Logo

भैरहवा सीमा क्षेत्रमा सशस्त्रको सक्रियता बढ्यो


1.6k
Shares

भैरहवा । भैरहवा भन्सार कार्यालयमा राजश्व संकलन घटेसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नााकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १२ महिनादेखि निरन्तर राजश्व संकलन लक्ष्यअनुरुप गर्न नसकेर घाटामा गइरहेको छ ।

मुलुकका लागि ठूलो योगदान गर्ने यो नाकाबाट नै राजश्व संकलन घटेसँगै सीमा सुरक्षा र अवैध चोरीनिकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सीमा विन्दुमै सक्रियता बढाएको हो । सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण सशस्त्र प्रहरीको पहिलो जिम्मेवारी हो । सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरको नेतृत्वमा समग्र रुपन्देहीको सीमा सुरक्षा व्यवस्था भइरहेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठका अनुसार सीमामा चोरी निकासी रोक्न थप जनशक्ति परिचालन गरी आकस्मिक र आवश्यकताअनुसार ठाँउठाँउमा चेकजाँच बढाइएको छ । सरकारलाई राजश्वको दबाब पनि परेको छ, सशस्त्र प्रहरीले पनि केही योगदान गर्न सक्छ की भनेर जनशक्तिको अधिकतम प्रयोग गरी राजश्व वृद्धिका लागि दुई सातादेखि लागेको उनले बताए ।

एसपी श्रेष्ठका अनुसार नियमितका साथसाथै सरप्राइज चेकिङ पनि भइरहेको । जहाँबाट नतिजा राम्रो पाएको र त्यसमै केन्द्रित भएर सीमामा भएको अवैध ओसारपसार नियन्त्रण र निरुत्साहित गर्न सशस्त्र प्रहरी लागेको छ । उनले भने, ‘सीमा क्षेत्रमा लाग्दै आएको फरेनिया बजारमा जान नेपालीलाई रोक लगाउदै आएका छौँ, कोभिडको नयाँ भेरियन्ट पनि देखिएकोले थप सजगता, सुरक्षा चुनौती र जोखिमलाई मध्यनजर गर्दै नेपालीलाई सचेत पनि गराइरहेका छौँ ।’

एक वर्षदेखि भैरहवा भन्सार कार्यालयले पाएको लक्ष्य भेटाउन सकेको छैन । कार्यालयको तथ्याङ्क अनुसार मंसिर ०७८ सम्म लक्ष्यअनुरुप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नै नभई आयात घटदै गएको छ । नयाँ वर्षको सुरुवातसँगै घट्दो क्रममा रहेको भन्सार राजश्व संकलन बढेको छैन । आर्थिक वर्ष २०७९/८०को पहिलो महिना लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजश्व संकलन भए पनि भदौमा ६७, असोजमा ४१, कार्तिकमा ४० र मंसिरमा ३९ प्रतिशतमा सिमित रह्यो ।

५ पुस ०७८ देखि नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गको वाणिज्य बैक र ‘ख’ वर्गको विकास बैकलाई विभिन्न २० वटा हार्मोनिक कोडअन्तर्गतको वस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनुपर्ने प्रावधान लागु गरेसँगै भैरहवा भन्सार कार्यालयले लक्ष्य पार गर्न सकेको छैन ।

नीतिमा फेरबदलले भन्सार आयात घटेसँगै राजश्वमा कमी हुनुका साथै तस्करहरू पनि मौलाएका थिए । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र भन्सार कार्यालयको गस्ती टोलीले अवैध तरिकाबाट नेपाल भित्रिएका सामानहरू पनि नियमित रुपमा भन्सार हुँदै आइरहेको पाएपछि पछिल्लो समय सुरक्षा निकायको ध्यानाकर्षण सीमामा रहेको छ ।

सरकारले विभिन्न शीर्षकका वस्तुहरूको आयात गर्दा अनिवार्य रुपमा प्रतितपत्र (एलसी।)को व्यवस्था गरेसँगै एलसी प्रक्रियामा जान साना व्यवसायीले झन्झटिलो मानेर संगठित रुपमा तस्करी हुने गरेको भन्सार स्रोतले जानकारी दिएको छ । सुरक्षा निकाय र भन्सारको गस्ती टोलीले बरामद गर्ने अधिकांस अवैध वस्तु तिनै साना व्यवसायीको हुने गरेको छ ।

सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीको पनि प्रमुख जिम्मेवारी अवैध वस्तुको ओसारपसर नियन्त्रणमा हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षकको कमाण्डमा ७८ वटा प्रहरी युनिट, अस्थायी चेक पोस्ट र मोबाइल टोली र सादा पोशाकका प्रहरी पनि खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्