Logo
Logo

प्रचण्डले विश्वासको मत पाउने दिन समयमै संसद्मा प्रवेश गर्न सांसदलाई ओलीको निर्देशन


2.5k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताएका छन् । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उनले राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारलाई सफल बनाइने बताए ।

      
‘यो सरकारलाई सफल बनाउन चाहन्छौँ’, अध्यक्ष ओलीले भने, ‘सरकारलाई हामीले उपयुक्त ढङ्गले मार्गनिर्देश गर्छौ । सरकारले सही नीति लेओस्, भ्रष्टाचार नगरोस् र सुशासन तथा विकास गरेर सक्रियताका साथ अघि बढोस् ।’ उनले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसमेत पाउने बताए । 

अध्यक्ष ओलीले संसद् अधिवेशन सुरु हुने दिन तथा प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने दिन संसद् भवनमा समयमा नै प्रवेश गर्न सांसदहरूलाई निर्देशनसमेत दिए । एमाले संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले केही बाहिरी तत्त्वले अहिलेको सरकार ढाल्न खोजिरहेको उल्लेख गर्दै त्यो पूरा नहुने बताए । उनले अहिलेको सरकारले छिमेकी देशसँग सुमधुर र पारस्परिक सम्बन्ध राखेर अगाडि बढ्ने बताए । 

‘हामी विदेशी हस्तक्षेप रुचाउँदैनौँ’, अध्यक्ष ओलीले भने । उनले सांसदहरुलाई गर्नुपर्ने काम प्राथमिकतामा राखेर गर्नुपर्ने निर्देशन दिए । उनले संसद्को अभ्यासमा भाग लिन नभ्याउने तथा बाहिर बाहिर जानेजस्ता काम नगर्नसमेत सचेत गराए । अध्यक्ष ओलीले जनताले अनुमोदन गरेर संसद्मा पठाएकाले सांसदहरुलाई जनताका पिरमर्काबारे संसद्मा आवाज उठाउन आग्रह गरे । 

कार्यक्रममा एमाले संसदीय मामिला प्रमुख डा शिवमाया तुम्बाहाम्फेले नवनिर्वाचित सांसदले दलको निर्देशनलाई मानेर अगाडि बढ्नुपर्ने बताए । उनले संसद्मा खेल्नुपर्ने भूमिकालाई उल्लेखनीयरुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।  

प्रतिक्रिया दिनुहोस्