
काठमाडौं । कालिञ्चोक दर्शनले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आउँदो माघ ३ गतेदेखि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँअंकित मूल्यका आठ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको थियो । त्यसमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।
सर्वासाधारणलाई छुट्ट्याइएको मध्ये पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । दुई प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीका लागि छुट्ट्याइएको छ । सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले माघ ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।












