
विराटनगर । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता– २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् ।
नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहालले उपाधी उचालेका हुन् । प्रिन्सले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गर्दै उपाधी उचालेका हुन् ।
पहिलो सेट सहज जित निकालेका दाहालले दोश्रो सेटमा १–८ ले पछि परेको अवस्थालाई सुधार गर्दै २१–१७ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पारेका थिए । प्रिन्सको ८ दिन भित्रमा यो प्रफुल माथिको दोश्रो जित हो ।
यस अघि ईटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सरगमाथा राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगितामा पनि प्रफुललाई हराउँदै प्रिन्सले उपाधी उचालेका थिए । यस विधामा पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन संयुक्त तेश्रो भए । विजयी भएका प्रिन्सले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै उपविजयी प्रफुलले नगद ३० हजारमा चित बुझाए । तृतीय स्थान प्राप्त गर्ने बिष्णु कटुवाल र रुकेश महर्जनले क्रमश १४ हजार र १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पुरस्कार वितरण गरे ।














