
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न अब चार दिन मात्रै बाँकी छ । तर, अझै राष्ट्रपतिको विषयमा प्रमुख सत्तारुढ दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच साझा उम्मेदवारमा मतैक्यता हुन सकेको छैन ।
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन पाँचदलीय गठबन्धनसँग नजिकिएका छन् । पुरानो गठबन्धनका नेताहरूबीच चरणवद्ध छलफल भइरहेको छ । पुरानै गठबन्धनबाट राष्ट्रपति बनाएर जाने समझदारी शीर्ष तहमा भइसकेको स्रोतले बताएको छ । यद्यपि, पात्रको बारेमा अझै कुरा हुन बाँकी छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा सरकारबाट बाहिरिने र ठूलो–ठूलो भागका निम्ति सौदाबाजी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको नीति अन्ततः उसकै निम्ति घातक भएजस्तै ओलीको आत्मकेन्द्रित निर्णयको मारमा एमाले पर्ने भएको छ ।
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता गठबन्धनमा अलपत्र परेझैँ एमाले अन्ततः प्रमुख प्रतिपक्षमा थन्किएर बस्नुपर्ने घटनाक्रम विकास हुँदैछ । राष्ट्रपति नपाउने भएपछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नयाँ समीकरण निर्माण गर्ने ओलीको रणनीति छ ।
नेपाली कांग्रेसलाई राष्ट्रपति दिएर प्रधानमन्त्री आफू हुने गरी ओलीको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई एउटा सन्देश पठाइएको स्रोतले बताएको छ । त्यस्तै ‘राष्ट्रपति बनाइदिने’ भनी अर्को सन्देश एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पठाइएको स्रोतले दाबी गरेको छ ।
एमालेकै नेताहरू ‘यो गल्नेवाला दाल होइन’ भन्न थालेका छन् । ओलीको प्रस्तावमा दुबैतिरबाट सकारात्मक जवाफ आएको छैन । विगतमा ओलीले धोका मात्रै दिएका कारण पनि विश्वास गर्ने अवस्था नभएको कांग्रेसको बुझाइ छ ।
कांग्रेस नेताहरूले संसदको ठूलो दल भएको नाताले राष्ट्रपति दाबी गर्दै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने र पुस १० अघिको सहमतिबमोजिम आलोपालो प्रधानमन्त्रीको अभ्यासमा जाने सल्लाह गरेका छन् ।
त्यसो गर्दा साढे दुई वर्षको प्रधानमन्त्री प्रचण्ड रहने, त्यसपछि साढे एक वर्ष नेपाली कांग्रेस र एक वर्ष एकीकृत समाजवादीले प्रधानमन्त्री पाउने अवस्था हुन्छ ।
यदि, प्रचण्डले गरेको प्रस्ताव नेपाली कांग्रेसले स्वीकार गर्ने अवस्था भयो भने नेपाली कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको प्रक्रिया पनि अगाडि बढ्छ । किनभने, प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि र त्यस्तो निर्णय उक्त पार्टीले गरेमा अरु दलसँग कुरा गर्न आफूलाई सहज हुने भनेका छन् ।
देउवानिकट कांग्रेस उपसभापति पूर्णबहादुर खड्काहरू यो प्रस्तावको पक्षमा छन् भने ज्ञानेन्द्र कार्कीसहितका केही नेताहरू त्यसो गर्न नहुने बताइरहेका छन् । सिंगो नेपाली कांग्रेसको भविष्य र आन्तरिक खिचातानीलाई व्यवस्थापन गर्ने कुरा सोचियो भने उक्त पार्टीका निम्ति प्रचण्डको प्रस्ताव फलदायी हुने अन्य खेमाका नेताहरूको बुझाइ छ ।
यदि, देउवा राष्ट्रपति भएमा आलोपालो प्रणालीको प्रधानमन्त्रीमा रामचन्द्र पौडेल र शेखर कोइरालाको बाटो खुल्छ । यी दुईमध्ये एकजनाले पार्टीको कार्यवाहक सभापति र अर्कोले प्रधानमन्त्री चलाउने विकल्प पनि खुला हुन्छ । त्यसो गर्दा कांग्रेस नेतृत्वमा क्रमशः तेस्रो पुस्ताको नेतृत्व स्थापित हुँदै जान्छ ।
ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पठाएको सन्देशमा एमालेकै प्रस्तावमा नेपाललाई राष्ट्रपति बनाउने भन्ने कुरा बाहिर आएपनि एकीकृत समाजवादीका एक नेताले उक्त समाचारको खण्डन गर्दै एमालेबाट त्यस्तो प्रस्ताव नआएको बताएका छन् ।
पार्टी एकता गर्न चाहेको भए त्यसबारे स्पष्ट र विश्वसनीय खाका लिएर आउन, नत्र पार्टी अध्यक्षलाई राष्ट्रपति बनाउने नाममा पार्टी निर्माणको प्रक्रियालाई भाँड्ने र भएभरका नेता, कार्यकर्तालाई अलपत्र पार्ने नियतका साथ ल्याइएको प्रस्ताव अर्को षड्यन्त्रका रुपमा रहेको एकीकृत समाजवादीका नेताहरूको विश्लेषण छ ।
पार्टी विभाजनअघि माधवकुमार नेपाल–झलनाथ खनाल पक्षमा उभिएर विभाजनमा सरिक नभई एमालेमै रहेका नेता, कार्यकर्तामाथि एमालेमा अर्कै दर्जाको व्यवहार चलिरहेको छ । त्यस्तो स्थितिमा माधवकुमार नेपाल वा झलनाथ खनाललाई राष्ट्रपति बनाउने भन्दैमा न पार्टी एकता सम्भव छ, न त ती नेता राष्ट्रपति नै भए पनि ओलीका दुर्नियतको मलामी बन्न एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता तयार हुन्छन् ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएका पटक–पटकका भेटमा प्रचण्डले ओलीलाई खल्तीबाट निकालिने राष्ट्रपतिको नाममा अरुको सहमति नजुट्ने भन्दै त्यो चाहना त्याग्न भनेका छन् । ओलीले त्यो कुरा मानेका छैनन् ।
प्रचण्डले राष्ट्रपति स्वीकार नगर्ने स्थितिमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र जसपालाई प्रचण्डबाट टाढा पार्ने प्रयासमा ओलीको ध्यान केन्द्रित भएको स्रोतको दाबी छ । त्यसक्रममा जसपालाई उपराष्ट्रपति दिने सन्देश ओलीले पठाइसकेका छन् । ओलीको त्यस्तो सन्देश आएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्र र कांग्रेसका नेताहरूसँग यसबारे छलफल नै गरेको स्रोतले बताएको छ ।
उपेन्द्रको चाहना संसदमा प्रवेश गर्ने हो । त्यसका लागि जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाई उनले चुनाव जितेको बाराको क्षेत्र नं. २ मा उपचुनाव गराउने र उपेन्द्र सांसद बन्ने योजनामा छन् । यो स्थितिमा आलोपालो प्रणालीअनुसार आगामी पाँच वर्षभित्रको कुनै कालखण्डमा उपेन्द्र स्वयं पनि प्रधानमन्त्रीको दावेदार बन्न सक्छन् । तर, उपराष्ट्रपतिका नाममा एमालेसँग हात बढाउँदा त्यो अवसर नपाइने बुझाइ उपेन्द्रको रहेको स्रोत बताउँछ ।
कुराकानीका क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहबाहेकका पुरानै मन्त्रालयमा बहाली गराउने कुरा गर्दा स्वयं उक्त पार्टीका नेताहरू सकारात्मक भएका थिए । तर, ओलीले सभापति रवि लामिछानेलाई बोलाएर सरकारमा नजान भनेका थिए ।
ओलीले रविलाई नयाँ गठबन्धन बन्न लागेको र उक्त पार्टीले गृहसहितका मन्त्रालय पाउने अवस्थामा अहिले गृहबिना सरकारमा नजान भनेको स्रोतको दाबी छ । तर, ओलीले नयाँ समीकरणका नाममा फ्याँकेका दुबै अस्त्रहरू सफल नहुने राजनीतिक विश्लेषण छ ।
यदि, ओलीले राष्ट्रपतिप्रतिको आशक्तिलाई थाँती राख्ने हो र पाएका पद र भूमिकामा चित्त बुझाउने हो भने एमालेले पाएको तीन वटा मुख्यमन्त्री, संघीय संसदको सभामुख, अन्यत्रका सभामुख, उपसभामुखसहित संघ र प्रदेशका मन्त्रीहरू पनि सुरक्षित रहन्छन् ।
राष्ट्रपति निर्वाचनलगत्तै बन्ने विभिन्न संसदीय समितिका सभापतिमा एमालेका केही सांसदहरू व्यस्थापन हुने अवस्था रहन्छ । तर, रणनीतिक चालबाजीका नाममा माओवादीलाई सरकारबाट झार्छु भन्ने शैलीमा उनी अगाडि बढ्दा उपरोक्त भूमिकाहरू एमालेका निम्ति तासको घरजस्तो बन्ने अवस्था आउँदै छ ।














