Logo
Logo

नेपालीको बुद्धि नभएकै हो त ?



केही समयअघि एउटा रिपोर्ट भाइरल बन्यो– नेपालको आइक्यू लेभल विश्वमा सबैभन्दा कमजोर छ । रिपोर्टको निष्कर्ष थियो– नेपाली ग्वाँजे भए । बुद्धि नभएको नेपाली । अध्ययनमा समेटिएका १९९ देशमध्ये नेपाल अन्तिममा थियो ।

आइक्यूमा नेपाल सबैभन्दा कम्जोर देख्या केहीलाई गर्व लागेछ क्यारे ! कुनै कुराको आविष्कार गरेजस्तै, समाचार ब्रेक गरे ! सामाजिक सञ्जालमा छरपस्ट भयो । रिपोर्टले ग्वाँजे देखायो । ग्वाँजेले कान छामेनन्, कागको पछाडि दौडिए ।

धेरैलाई लाग्यो– हामी त खत्तमै रहेछौँ । त्यो रिपोर्टले केहीलाई चिन्तित पनि बनायो । आफूसँग ‘बुद्धिको भकारी’ भएको ठान्नेहरूले आफैंमाथि खिसी गरे । सरकारको आलोचना गर्न पनि भ्याए । हुन त उनीहरूले अरुलाई आलोचना नगरी भोक लाग्दैन । निद्रा लाग्दैन । खाएको समेत पच्दैन ।

केहीले नेपालको पहिलो महिला प्रधानमन्त्रीको रुपमा हेर्ने आरजु म्याडमलाई पनि नेपालीहरू मूर्ख नै लाग्यो । हुन त मूर्ख नै छन् । ‘फ्री भिसा, फ्री टिकट’ विदेश पठाउँछौँ भन्दा भोट दिने !

धनगढी पुगेर भनिन्– ‘एउटा रिपोर्ट हेरे, त्यसमा यस्तो कुरा छ । के भन्ने अब ? दुखलाग्दो कुरा छ । संसारको सबैभन्दा कम आइक्यू हुने देशमा नेपाल रहेछ ।’

‘फ्री भिसा, फ्री टिकट’को म्याद गुज्रेछ क्यारे ! भाषणमा ट्यालेन्ट र आइक्यूको कुरा गरिन् । फेसबुकमा देखेकै भरमा गरिन् या अध्ययन गरेर ? त्यो भगवान जानुन् कि त आरजु म्याम नै ।

प्रश्न उठ्यो– नेपाली ग्वाँजे भएकै हुन् ? प्रश्न उठेपछि नेपाल फ्याक्टले जाँच ग¥यो । र, उक्त रिपोर्ट फेक भएको निष्कर्ष निकाल्यो । नेपाल फ्याक्टको अनुसार नेपालभन्दा कम आइक्यू रहेका अन्य देशहरू पनि छन् ।

अहिले हामी बौद्धिकताको स्वर्णयुगमा छौं अर्थात्, हाम्रो बौद्धिक क्षमता उच्च विन्दुमा छ । मान्छेमा जतिको अक्कल अरु कुनै प्राणीमा छैन । तर, सबैको अक्कल एकै पनि छैन । उ हुर्किएको समाज, उसले पाएको शिक्षा, उसको इच्छाशक्तिमा भरपर्छ ।

मान्छेले कुनै गतिविधि वा क्रियाकलापमा कस्तो प्रदर्शन गर्छन् भन्ने सूचकांकका रूपमा आइक्यूले काम गर्छ । यो परीक्षण विधि एक शताब्दी अघि नै लागू भइसकेको छ । मान्छे कति बुद्धिमान भनेर यसैबाट परीक्षण गर्ने गरिन्छ ।

आइक्यू मान्छेको बुद्धि परीक्षण गर्न प्रयोग गरिने एकमात्र मापदण्ड हो । हामीले जति धेरै प्रश्नको उत्तर दिन्छौँ, उति धेरै बौद्धिक क्षमता भएको मान्छौँ । नेपालका विभिन्न परीक्षामा समेत आइक्यू टेस्ट गर्ने गरिन्छ । आइक्यू टेस्टमा साधारणतया ज्ञान र क्षमताको मूल्याँकन गरिन्छ ।

आइक्यू टेस्क फ्रान्सबाट सुरु भएको पाइन्छ । फ्रान्सेली मनोवैज्ञानिक अलफेद बिनेले सन् १९०५ तिर विद्यार्थीहरूलाई थप कक्षा आवश्यक छ कि छैन भन्ने थाहा पाउन केही ‘कमनसेन्स’ प्रश्न राखेर परीक्षाको विकास गरे । त्यही परीक्षा ‘आइक्यू टेस्ट’का रूपमा रूपान्तरित भयो ।

सामान्य रूपमा हेर्दा आइक्यू परीक्षणले मान्छेको सिक्ने र जटिल जानकारी बुझ्ने क्षमता देखाउँछ । तर, आइक्यू परीक्षण नै बौद्धिकता जाँच्ने सही मापन हो कि होइन भन्ने प्रश्न पनि उठ्छ । यसले हाम्रो बौद्धिक क्षमताको विकासलाई समग्र रूपमा चित्रण गर्छ कि गर्दैन ?

कुनै बेला शिक्षा उच्च प्राथमिकतामा पथ्र्यो । सबै ज्ञान दिमागकै सहारामा प्राप्त हुन्थ्यो । अहिले प्रविधिको जमाना छ । सबै काम प्रविधिबाट हुन थालेको छ । पहिले जटिल हिसाबहरू दिमागबाटै हुन्थ्यो, अचेल क्यालकुलेटरबाट गरिन्छ ।

हुँदाहुँदा अहिले त च्याट जेपीटी आइसकेको छ । कुनै विषयबारे लेख्नुप¥यो भने पनि त्यसैले लेखिदिन्छ । यसले के बुझाउँछ भने मान्छेले दिमागभन्दा बढी प्रविधि चलाउन थालेका छन् ।

हाम्रो समाजले बौद्धिक क्षमतामा जति ठूलो छलाङ मारेको छ । त्यसले हामीलाई सानैदेखि गहिरो सोच र तार्किक विश्लेषण गर्न सक्ने तालिम दिइरहेको छ । बौद्धिकताले हामीलाई अझै धेरै सिर्जनशील हुन मद्दत गर्छ । तर, आइक्यूले मान्छेको सिर्जनशील सोच वृद्धि गर्न सक्दैन ।

आइक्यू कुनै जटिल विषय सजिलै बुझ्न सक्ने सीपसँग सम्बन्धित हुन्छ । तर, तर्कसंगतमा त्यति धेरै अर्थ राख्दैन । मान्छेले आइक्यू बढी हुँदैमा तर्क गर्ने क्षमता पनि बढी हुन्छ भन्ने हुँदैन ।

भौतिक विज्ञानका पिता मानिने अल्बर्ट आइन्स्टाइनलाई एउटा प्रश्न सोधिएको थियो– तेस्रो विश्वयुद्धमा कस्ता हतियार प्रयोग होला ? उनले जवाफ दिएका थिए– तेस्रोको बारेमा थाहा भएन, तर चौथो विश्वयुद्ध चाहिँ ढुंगामुढाले हुन सक्छ ।

अहिले प्रविधिको तिव्र विकास भइसकेको छ । १० सेकेन्डमा विश्व ध्वस्त गर्ने मिसाइलहरु बनेको बताउने गरिन्छ । कहाँबाट कहाँ मिसाइल प्रहार हुँदैछ भन्ने थाहा पाउने र त्यसलाई बीचैमा झर्न सक्ने प्रविधिको विकास भइसकेको छ ।

तर, ढुङ्गामुढा कसले बोकिरहेको छ भन्ने प्रविधि बनेको छैन । लुकेर ढुङ्गामुढा गर्दा कम्प्यूटरले थाहा पाउने कुरै भएन । यस्ता प्रविधि बनेपनि क–कसले आक्रमण गर्दैछ भन्ने कसरी थाहा पाउने ? जहाँ पनि हुन्छ । जसले पनि बोक्छन्, ढुंगामुढा । त्यसैले चौथो विश्वयुद्ध ढुङ्गामुढाले हुने सम्भावनालाई नकार्न सकिँदैन ।

अर्को तर्क पनि छ । तेस्रो विश्वयुद्धमै विश्व ध्वस्त हुन्छ । अहिलेसम्मका विकासदेखि उपकरण केही हुँदैन । फेरि ढुंगेयुग सुरु हुन सक्छ । त्यसैले चौथौं विश्वयुद्ध भयो भने ढुङ्गाले हुन पनि हुन सक्छ । यसमा आइक्यूभन्दा तर्क बढी छ ।

आइक्यूले हामीलाई घाटा बेहोर्नबाट पनि रोक्न सक्दैन । हाम्रा असफल योजना र व्यवसायहरू यसका उदाहरण हुन् । सबै आइक्यूसँग सम्बन्धित हुन्छन् भन्ने छैन । उच्च शिक्षा हासिल गर्नुसँग पनि कुनै सरोकार राख्दैनन् । अमेरिकामा भएको एक अध्ययनले डिग्री हासिल गरेकाहरूको पनि सिर्जनशील सोचमा कुनै वृद्धि नभएको देखाएको छ ।

त्यसैले आइक्यू वृद्धिले सबै किसिमका सीपमा जादुमयी विकास गर्छ भन्ने छैन । यो पनि बिर्सनु हुँदैन, आइक्यूले व्यवहारिक ज्ञान पनि दिन सक्दैन । आइक्यूमा राम्रो भएरमात्रै पुग्दैन, व्यवहारिक ज्ञानको पनि आवश्यक पर्दछ ।

प्रतिक्रिया दिनुहोस्