काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

बलात्कार आरोपमा उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन दिएका थिए । सन्दीपको निवेदनसँगै नेपाल सरकारले उच्च अदालतले धरौटीमा छाड्ने आदेशविरुद्ध दायर गरेको मुद्दा पनि लगाउमा राखेर सुनुवाइ गरिएको थियो ।
गत शुक्रबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दुवै मुद्दालाई लगाउमा राखेर सुनवाइ गर्न आदेश दिएका थिए ।
नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
आइतबारको इजलासमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए । उनीहरुले सोमबार पनि बहस गर्ने भएका छन् ।














