
काठमाडौं । काठमाडौंको वसन्तपुर अगाडि आज बिहान विधिवत् रूपमा चिर ठड्याउँदै होलीको सुभारम्भ गरिएकाे छ ।
वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७:४५ को शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो । चीर ठड्याएसँगै राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ ।
चन्द्र मास अन्तर्गत फागुन महिनाको पूर्णिमाको दिन मनाइने होली यही फागुन २२ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा र २३ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ । रंगहरुको पर्वको रुपमा चिनिने होली आपसमा मैत्री एवम् सद्भावपूर्वक अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ।
धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन्। आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ।














