
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेको छ । नेकपा एमाले सरकारबाट बाहिरिएसँगै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल थालेका हुन्।
सोमबार एमाले सरकारबाट बाहिरिएसँगै रिक्त रहेको १६ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न प्रधानमन्त्रीले दलहरुसँग छलफल सुरु गरेको हो । पुस १० गते बनेको सत्ता गठबन्धन भङ्ग भएपछि हिजो एमाले सरकारबाट बाहिरिएसँगै १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा आएको छ ।
अहिलेको ७ सदस्यीय मन्त्रिपरिषदमा अब माओवादी र जनमत पार्टी मात्रै छन् । यसअघि राप्रपाले पनि माघ १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो ।
माघ २३ गते सकारबाट बहिरिने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने सरकारबाट फिर्ता भए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको छ । आसन्न राष्ट्रपति निर्वाचनका विषयमा कुरा नमिलेपछि सात दलिय गठबन्धन भंग गर्दै प्रधानमन्त्री प्रचण्डले आठ दलिय मोर्चा गठन गरेको छ ।
मन्त्रिपरिषद् विस्तारका लागि नयाँ गठबन्धन बनाउन दलहरूबीच छलफलसमेत सुरु भएको छ । गठबन्धन दलहरुबीच सहमति भएमा राष्ट्रपति चुनावलाई असर नपर्ने गरी चुनाव अघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । तर, पूर्णता भने राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव पछि मात्रै दिने तयारी भइरहेको छ।











