विराटनगर । प्रदेश १ को प्रदेश सांसद् रामबहादुर मगरले रोष्टमबाटै जनतालाई ढाँटेर आएको बताएका छन् ।
प्रदेशसभाको नाम कोशी राख्नुपर्छ भन्ने प्रस्ताव गरेका नेकपा एमालेका सांसद मगरले सांसद जनतालाई ढाँटेर आएको बताएका हुन् । सांसद मगरले प्रदेशसभामा आएका सांसद सोझा नभएको बरु जनतालाई ढाँटछल गरेर निर्वाचन जितेर आएको बताए ।

केहि सांसदले ‘कोशी’ नाम राख्ने प्रस्तावमा जनजाति सांसदलाई अघि सारेको विषयलाई ‘सोझालाई फसाएको’ टिप्पणी गरेपछि उनले सांसदहरु सोझा नभएको जवाफ दिए । ‘यहाँ आएकाहरु कोहि पनि साह्रै सोझा जस्तो मलाई लागेको मलाई छैन’ उनले भने, ‘जनतालाई प्रसस्तै ढाँटछल गरेर निर्वाचन जितेर आएकाहरु यहाँ छन् ।’
मगरले सांसद जनतालाई ढाँटेर आएको बताएपछि त्यसमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले नियमापत्ती जनाउँदै रेकर्डबाट हटाउन माग गरेका थिए । उनले ‘चुनाबी दौरानमा हामी सबैले ढाँटेर र छलेर आएका हौं त ?’ भन्दै प्रश्न गरेका थिए । सांसदको अपमान गर्ने अमर्यादित भनाई रेकर्डबाट हटाउन उनले माग गरेका थिए ।
राईको माग अनुसार सभामुख बाबुराम गौतमले ती विषय रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । प्रदेशसभाको नाम कोशी राख्ने प्रस्तावमाथिको छलफल सकिएर अहिले संशोधन दर्ताको लागि २ घण्टा संसद बैठक स्थगित भएको छ ।














