
काठमाडौं । नेपाली काँग्रेससहित ८ दलले आज काठमाडौंमा संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्।
कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो ।
राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि प्रशिक्षण दिने कार्यक्रम रहेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा काँग्रेस, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई खबर गरिएको छ । प्रशिक्षण रोयल बैंक्वेट तीनकुनेमा हुने भएको हो ।
गत फागुन १२ गते राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने ८ दलले निर्णय गरेको भोलीपल्ट नै कांग्रेसको कार्यसम्पादन समितिको बैठकले नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोही दिन फागुन १३ मा पौडेलले राष्ट्रपतिमा मनोनयन दर्ता गराएका थिए ।
साथै ८ दलले शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रियासमेत गर्ने भएका छन्। काँग्रेससहित दलहरूले पदाधिकारीलाई सम्बन्धित प्रदेशमा खटाइसकेका छन्।
यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। ८ दलबाट पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन्।











