दोलखा । उपप्रधान, भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको अवस्थामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
शुक्रबार दोलखाको चरिकोटमा सुरु भएको दोलखा महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले देशलाई अहिलेको अवस्थाबाट माथि उठाउन दलहरुबीच राष्ट्रिय सहमति हुनपर्ने बताएका हुन् ।

उनले भने, ‘दलहरुबीचको मुटावले संकट उत्पन्न हुन्छ । अहिले परिस्थितिबाट देशलाई विकासको गतिमा लैजान राष्ट्रिय सहमति आवश्यकता छ, दलहरुबीच सहमति र सहकार्य हुने विश्वास छ ।’
उनले देशको लोकतन्त्रमा समेत पटक–पटक आक्रमण भइरहेकाले उपलब्धि जोगाउनका लागि पनि दलहरुबीच राष्ट्रिय सहमतिको विकल्प नरहेको बताए ।
साथै, उनले पुँजीगत खर्च कमजोर अवस्थामा रहेकाले विकास निर्माणले गति लिन नसकेको बताए । मन्त्री श्रेष्ठले भने, ‘कुन कारण पुँजीगत खर्च कमजोर बनेको छ, यसको अध्ययन भइरहेको छ । सरकारले सबै मन्त्रालय र सचिवहरुसँग समन्वय गरेर निराकरण गर्ने छ ।’










