काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो ।

विप्लवको सचिवालयका अनुसार पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे उनीहरुबीच गम्भीर छलफल र समीक्षा भएको छ । विप्लवले बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका वन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले तीन बुदे सहमति अनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ ।










