काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । आचार संहिताअनुसार चुनाव प्रचारप्रसार गर्न रङरोगन र कुनैपनि प्रकारको पोस्टर टाँस्न नपाइने भएको छ ।
बिहीबार त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनैपनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयक निर्देशक पशुपति अधिकारीका अनुसार क्याम्पसको कम्पाउण्ड वालको बाहिरिपट्टी, भित्रपट्टी र क्याम्पस वरिपरि बालपेन्टिङ गर्न र त्रिविका क्याम्पसमा हानी नोक्सानी हुने कुनै प्रकारको प्रचार गर्न पाइने छैन ।
आचारसंहितामा क्याम्पस निर्वाचन समितिमा दर्ता संघ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम क्याम्पस निर्वाचन समितिले सञ्चालन गर्ने र उक्त कार्यक्रमका एक अर्काप्रति आपेक्ष वा आरोप लगाइने वाक्य बोल्न नपाइने उल्लेख गरिएको छ ।
साथै, क्याम्पस हाताभित्र माइकबाट कुनैपनि प्रकारको प्रचारप्रसार गर्न नपाइने, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द हड्ताल गर्न नपाइने आचारसंहितामा उल्लेख छ । आचारसंहिता अनुसार मतदान हुनुभन्दा ४८ घन्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसार गर्न पाइने छैन ।
निर्वाचन कार्यतालिका अनुसार स्ववियु निर्वाचनका लागि यही २७ फागुन २७ को बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने छ । आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ ।










