काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिले संविधानले दिएको दायरामा बसेर आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् ।
बिहीबार राष्ट्रपति निर्वाचनपछि संसद् भवनबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पत्रकारसँग कुरा गर्दै संवैधानिक दायराभित्र बसेर काम गर्न नयाँ राष्ट्रपतिलाई सुझाव दिएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘राष्ट्रपतिले संविधानले दिएको दायरामा बसेर आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ । विगतमा भएका राम्रा कुरालाई ग्रहण गर्नुपर्छ र कमजोरीलाई त्याग्नुपर्छ ।’
उनले सबै उपलब्धिको रक्षा गर्ने काममा राष्ट्रपति लाग्नुपर्ने बताए । अध्यक्ष नेपालले भने, ‘राष्ट्रको अभिभावकको हिसाबले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ । राष्ट्रको हितमा प्रतिकूल असर पर्ने कुनैपनि काम गर्नु हुँदैन । देशप्रति आफ्नो जीवन समर्पित गर्नुपर्छ । आजसम्म संघर्ष र बलिदान गरेर प्राप्त उपलब्धिको रक्षा गर्ने, सबै उपलब्धिहरुको रक्षा गर्ने काममा जुट्नुपर्छ ।’
बिहीबारको भएको निर्वाचनबाट रामचन्दै पौडे गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति निर्वाचित भएका हुन् ।
पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरे भने नेम्बाङले १५ हजार ५ सय १८ मतभार पाए । राष्ट्रपति चुनावमा संघीय संसदतर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार)ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए ।










