काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।
बिहीबार तोकिएको पेसी हेर्न नभ्याउने भन्दै शुक्रबारका लाागि सरेको थियो । नेपालमा दस वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको समयमा भएका व्यक्तिको मृत्युमध्ये पाँच हजारको जिम्मा आफूले लिने भनेपछि प्रचण्ड विवादमा तानिएका थिए ।
द्वन्द्वपीडित परिवार एवं अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दाहाल विरुद्ध रिट दायर गरेका हुन् । उनीहरुले मंसिर ४ को निर्वाचनमा प्रधानमन्त्री प्रचण्डलाई रोक लगाउनुपर्ने माग सहित रिट पेस गरेका थिए ।
तत्कालीन समयमा अदालत प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध दिइएको निवेदनमा गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले दर्ता गर्न आदेश गरेको थियो । उक्त आदेशपछि मंगलबार रिट दर्ता भएको थियो ।
शुक्रबार सुनुवाइ हुँदै आदेश जारी गरेमा मुद्दा अघि बढ्नेछ । इजलासले रिट खारेज गरेमा विवाद समाप्त हुनेछ । सर्वोच्चमा मुद्दा अघि बढेपछि सरकारले हतारहतार बेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण आयोगको संशोधन विधेयक दर्ता गराएको छ ।










