काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धीहरुलाई बिनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुद्दा लगाइएको आरोप लगाएका छन् ।

शुक्रवार चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणा कार्यक्रममा बोल्दै महासचिव विप्लवले प्रधामन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको समेत दावी गरे ।
‘यो मुद्दा भनेको गणतन्त्रलाई पनि सहन गर्न नसक्ने प्रवृत्तिको हमला हो । अथवा गणतन्त्रलाई सम्पूर्ण रुपले पश्चगामी र दलाल पूजिँपति वर्गको हातमा हाल्दिने षड्यन्त्र हो’ उनले भने, ‘जसले विश्वमा र नेपालमा एउटा परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको थियो त्यो सम्भव छैन है, अब कसैले पनि त्यसलाई सोच्नु हुँदैन है भनेर एकदमै प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ यो मुद्दा हालिएको छ ।’
उनले पुरानो सत्ताले खडा गरेका अन्तरविरोधहरु, समस्याहरु, संकटहरु, दमन, उत्पीडनहरुको विरुद्धमा हुने चिजहरु आफूहरुले सहन नसक्ने पनि बताए । विप्लवले भने, ‘एउटा व्यक्तिमा लगेर जोडेर जसरी हमला गर्न खोजिन्छ, त्यो चाहीँ क्रान्तिलाई नै अस्वीकार गर्ने, ध्वंस गर्ने प्रवृत्तिसँग सम्बन्धित छ । त्यसैले हामीले अस्वीकार गरेका छौँ ।’
उनले जनयुद्धलाई अपराधिकरण गर्ने र जनयुद्धका उपलब्धिहरुलाई विनाश गर्न खोज्ने प्रवृत्तिसँग यो मोर्चा बनाएर लड्ने समेत बताए । उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी लड्छ । र त्यसको कुनैपनि जवाफ दिन हामी तयार छौँ । यो जनयुद्ध माथिको आक्रमण हो ।’
उनले प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिला मात्रै नभएर राज्य र जनताको मामिला भएको भन्दै आफूहरु त्यसको प्रतिरोधमा उत्रेको बताए ।











