काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका छन् ।

आज (शनिबार) कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान गएर पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका हुन् ।
राष्ट्रपति पौडेललाई त्यहाँ पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसी, प्रदेशसभा सदस्य पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, वडाध्यक्ष श्याम केसीलगायतले स्वागत गरेका थिए ।
माल्यार्पणपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले प्रतिष्ठानको आगन्तुक कक्षमा रहेको पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए ।
पुस्तिकामा उनले पुष्पलालको स्मृति उद्यानको अवलोकन गर्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै यसको विकास तथा प्रगतिको कामना गरेका छन् । आगन्तुक कक्षमा नवनिर्वाचित राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच समसामयिक विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई अध्यक्ष नेपालले पुष्पलालसम्बन्धी स्मृति ग्रन्थ प्रदान गरेका थिए ।











