Logo
Logo

र्‍याप्टिङका लागि चर्चित त्रिशूलीमा बाँध बनाइएपछि र्‍याप्टिङ संघको आपत्ति


2.6k
Shares

काठमाडौं । बालुवा गिटी ओसार्न लेवाटारस्थित त्रिशुली नदीमा बाँध बनाइएपछि नेपाल र्‍याप्टिङ एण्ड न्यानोइङ संघले आपत्ति जनाएको छ । उक्त बाँध बनाउने कार्यले र्याप्टिङ, क्योनोइङ काइकिङ खेलका लागि विश्वस्तरको प्राकृतिक स्थल बिगार्ने काम भएको भन्दै आपत्ति जनाएको हो ।

वल्ड र्याप्टिङ फेडेशन एशियन काउन्सिल अध्यक्षले नेपाल भ्रमणको दौरानमा र्‍याप्टिङ र क्यानोइङ काइकिङका खेलका लागि त्रिशूली नदी विश्वकै उत्कृष्टमध्ये एक भएको बताएसँगै आगामी एसिययन च्याम्पियशीप नेपालमा गराउने प्रस्ताव गरिसकेको बताउँदै संघले शनिबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नदीको स्वरुप नै बिगार्ने कार्यले देशको प्रतिष्ठामा नै आँच आउने कुरलाई समेत मध्यनजर गरी उक्त कार्य अविलम्ब बन्द गर्नु गराउन सम्बन्धीत सबैमा अपिल गर्दछौं ।’

गोरखाको शहिद लखन गाउँपालिका ४ स्थित ठेवाटार गाउँनजिकै रहेको त्रिशुली नदी किनारबाट गिट्टि, बालुवा ओसार्न नदी नै छेकेर बाँध बनाइएपछि संघले यस्तो अपिल गरेको हो ।

त्रिशुली नदी र्‍याप्टिङका लागि प्रख्यात छ । यहाँ दैनिक २ सयभन्दा बढी पर्यटक र्‍याप्टिङ गर्न आउने गर्दछन् । बाँध बाँधिएपछि व्यवसाय नै धरापमा पर्नेभएपछि हिमालयन रिभरगाइड एसोसियसन (हर्गान)ले पनि बिरोध जनाएको छ ।

यस्तै, एसोशिएसनले इच्छाकामाना गाउँपालिकालाई तत्काल काम रोक्न पत्र पठाउँदै बाँध बनाउने कार्य रोक्न अनुरोध गरेको छ । तर, काम रोकिएको छैन ।

गोरखातर्फ सडक नभएपछि ठेक्का पाएको त्रियुग निर्माण सेवा कम्पनीले त्रिशुली नदीमा बाँध बनाएर चितवनको लेवाटारतर्फ ल्याउन लागेको हो । यतिखेर गोरखा तर्फबाट बाँध लगाउने काम तिब्र गतिमा भैरहेको छ ।

समन्वय नगरी एक्लौटी रुपमा नदी थुनेर बाँध बनाएपछि इच्छा कामना गाउँपालिकाले समेत विरोध जनाएको छ । गाउँपालिका अध्यक्ष अध्यक्ष दानबहादुर गुरुङले नदी थुनेर गिटि, बालुवा ल्याउनका लागि वातावरणीय प्रभाव मुल्याङ्कन गर्नुपर्ने बताउँदै भने, ‘तर, त्यसका लागि हामीसँग समन्वय छैन ।’

शहिद लखन गाउँपालिकाले ठेउटारबाट करिब ७ सय मिटर उत्तरस्थित धारापानी बगरको नदीजन्य पदार्थ प्रयोगका लागि वातावरणीय प्रभाव मुल्याङ्कन गरेको छ । त्यो गर्दापनि इच्छा कामना गाउँपालिकाले आफ्नो क्षेत्रमा असर पर्ने भन्दै अनुमती दिएको थिएन् । तर, त्यहाँबाट बाँध उठाउन लागेपछि फागुन १० गते इच्छा कामना गाउँपालिकाले शहिद लखन गाउँपालिकालाई तत्काल काम रोक्न पत्र लेखेको थियो । त्यसपछि निर्माण कम्पनीले काम रोकेर त्यसभन्दा तलबाट बाँध उठाएको हो ।

नदी थुनेर ल्याउँदा स्थानीयलाई असर पर्ने अध्यक्ष गुरुङले बताए । बाँध बाँध्ने कार्यको स्थानीयले पनि विरोध जानएका छन् । तर, सम्बन्धित पक्षले ध्यान नदिँदा समस्या भएको अध्यक्ष गुरुङको भनाइ छ । उनले चितवनका प्रमुख जिल्ला अधिकारीलाई निवासमै भेटेर जानकारी गराएपनि काम नरोकिएको बताए ।

शहिद लखन गाउँपालिकाले ६ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि २५ लाख रुपैयाँमा ठेक्का दिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले बताएकी छन् । उनले १५ दिनको सूचना निकालेर एक महिनाअघि ठेक्काको जिम्मा दिएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्