
काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण आज देशका केही भागमा वर्षाको सम्भावना रहेको छ । पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसमा पुर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी तथा हिमाली भू–भागहरूमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।











