
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन् । अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा सम्बोधन गर्दै उनले सो बताएका हुन् ।
उनले भने, ‘असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालमा जन्मिएका भगवान् गौतम बुद्धको शिक्षामा आधारित छन् ।’
नेपालको सङ्घीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको उनको भनाई थियो । सभामुख घिमिरेले संविधानसभाबाट निर्माण भएको संविधानले मौलिक हक तथा सामाजिक न्याय, बालिग मताधिकार, स्वतन्त्र न्याय प्रणाली तथा सामाजिक समावेशीकरणका माध्यमबाट नागरिकलाई एकताको सूत्रमा आबद्ध गराएको बताए ।
उनले भने– ‘हाम्रो संसद्ले राज्यव्यवस्था र शासन प्रणालीमा नै परिवर्तन ल्याएको छ, अर्कोतर्फ नागरिकका मुद्दामा सरकारलाई जवाफदेही बनाउँदै संसदीय गतिविधि गर्दै आएको छ ।’
सभामुख घिमिरेले संसद् मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएको र नागरिकको सर्वभौमसत्ताको प्रयोग गर्ने मूल थलो भएको प्रष्ट पारे । उनले भने–‘संसद्मा जनताका प्रतिनिधि निश्चित अवधिका लागि चुनिने गर्दछन्, हरेक मुलुकले आफ्नो अनुभवका आधारमा आफ्नै मौलिक संसदीय शासन प्रणाली विकास गरेका छन्, एकअर्काका अभ्यास र सिकाइले संसदीय व्यवस्थालाई प्रभावकारी र बलियो बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।’
संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने उद्देश्यले स्थापित नामको सान्दर्भिकता विश्वशान्तिविरुद्ध हुने गतिविधि, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाका कारण अझै वृद्धि भएको सभामुख घिमिरेको भनाइ थियो ।











