
काठमाडौं । निर्वाचन आयोगले चितवन २ र तनहुँ १ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ ।
उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए आयोगले चितवन २ र तनहुँ १ सँगै उपराष्ट्रपतिमा निर्वाचित हुने सांसदको क्षेत्रमा एकैसाथ उपनिर्वाचन गर्ने आन्तरिक तयारी गरेको हो ।
नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति नियुक्त भएसँगै तनहुँ–१ रिक्त भइसको छ । उपराष्ट्रपतिको निर्वाचनमा तीन उम्मेदवार रहेकोमा एक जना मात्र प्रतिनिधिसभा सदस्य छन । दुई उम्मेदवार समानुपातिकतर्फबाट छन् । उपराष्ट्रपतिका चार उम्मेदवारमध्ये जसपाकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आर्थिक वर्ष २०७९/८० भित्र जुनसुकै क्षेत्रमा उपनिर्वाचन हुने भए माघ २९ गतेसम्म कायम मतदाताले मात्रै मतदान गर्न पाउने निर्णय भएको जानकारी दिए । यो निर्णयबमोजिम चितवन र तनहुँमा माघ २९ गतेसम्म कायम मतदाताले मतदान गर्न पाउने उनको भनाइ छ ।
आयोगले चितवन–२ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी वैशाख १० गते हुने निर्धारण गरिसकेको छ । चितवनको उपनिर्वाचनका लागि दल दर्तासमेत भइसकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गर्ने व्यवस्था छ । यही व्यवस्थाबमोजिम आयोगले चितवन–२ मा उपनिर्वाचन हुने घोषणा गरेको थियो ।











