
काठमाडौं । राष्टिय जनमोर्चाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
फागुन २७ र २८ गते बुटवलमा सम्पन्न राष्ट्रिय परिषदको प्रथम बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो । जनमोर्चाले पार्टीको केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उपनिर्वाचनलाई नेपालमा बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इशाईकरणका विरुद्ध भण्डाफोर अभियानका रूपमा उपयोग गर्ने निर्णय समेत बैठकले गरेको छ । साथै उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरिएको छ ।
चितवन–२ बाट मंसिर ४ को निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता अवैध घोषित भएसँगै उनको पद गएको थियो । यससँगै निर्वाचन आयोगले उपनिर्वाचन गर्ने गरी वैशाख १० गतेका लागि निर्वाचनको मिति तोकेको छ ।











